दैलेख – दैलेखमा १० देखि १४ वर्ष उमेर समूहका १६ हजार भन्दा बढी किशोरीहरुलाई पाठेघर क्यान्सरबाट जोगाउन निःशुल्क खोप लगाउने भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले सदरमुकाममा पाठे घरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालनका लागि गरेको तथ्याङ्क अनुसार अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको हो ।
पहिलो चरणमा भगवतमाई, भैरबी, डुंगेश्र, गुराँस, महाबु, नौमूले गाउँपालिका, नारायण नगरपालिकामा माघ २२ गतेदेखि २५ गतेसम्म र दोश्रो चरणमादुल्लू, आठबीस,चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिमा माघ २७ गतेदेखि ३० गतेसम्म खोप दिइने स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए । उनले खोप अभियान सञ्चालन गर्नका लागि पालिका स्तरबाट विद्यालय बाहिर रहेका किशोरीको तथ्याङ्क सङ्कलन गरिएको बताए ।
दुई चरणमा दैलेखका एक सय ५७ आधारभूत तथा माध्यमिक विद्यालमा कक्षा ६ देखि १० कक्षा पढ्दै गरेका १५ हजार चार सय ४३ किशोरीहरुलाई विद्यालयमै र पढाई छोडेका आठ सय ५४ जना किशोरीहरुलाई विभिन्न ८३ वटा स्थानमा ‘सिकोलिन’ खोप दिने तयारी रहेको खोप अधिकृत रेग्मीले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका दैलेखका प्रमुख नवराज शाहीले खोप अभियानलाई प्रभावकारी बनाउन प्रचारपसारमा जोड दिनुपर्ने बताए । उनले सबै बालबालिका पहुँच पुर्याउन सबैलाई सहयोग गर्न आग्रह गरे ।