नेपालको एक मात्रै घुमन्ते राउटे समुदायका ४३ परिवारलाई बौद्धगुरु छोइकी निमा रिन्पोछेले स्थापना गरेको राङ्ज्युङ ये शेनफन संस्थाले त्रिपाल र लत्ताकपडा उपलब्ध गराएको छ । सुर्खेतको वीरेन्द्रनगर–२ मा केही महिनादेखि बस्दै आएको राउटे समुदायको बस्तीमा पुगेर शेनफनले ४३ परिवारलाई कपडाको ८६ पिस त्रिपाल र १३४ परिवारलाई कपडा वितरण गरेको हो ।
राउटे समुदायलाई सामाग्री वितरण गर्न आएका कार्यक्रम संयोजक पेमा दोर्जे तामाङले पुस–माघको चिसोमा पनि एकसरो कपडामा देखेपछि आफूहरू सहयोग गर्न आएको बताए । ‘बस्तीमा आउँदा सित पनि नछेक्ने पालहरू देख्यौँ, पुराना पालहरू च्यातिएका थिए,’ उनले भने, ‘राउटे समुदायकै माग अनुसार उनीहरुले लगाउने कपडा र त्रिपाल सहयोग गरेका हौँ ।’
तामाङले प्रत्येक परिवारलाई दुई–दुई वटा त्रिपाल दिइएको बताए । ‘माघको चिसोमा पर्ने शीतले ओछ्यान पनि ओभानो नहुँदो रहेछ,’ उनले भने, ‘बस्तीमा पुगेपछि त्रिपाल दिनुपर्छ भन्ने लाग्यो, उहाँहरूले कपडाको मात्रै त्रिपाल लगाउनु हुँदो रहेछ, हामीले सिलाएर त्रिपाल दियौँ ।’
शेनफन कपडा र खाद्यान्न वितरण गर्न आएको थियो । भर्खरै उनीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेकाले खाद्यान्न नदिइएको उनले बताए । ‘भत्ता पाएकाले केही दिनका लागि उहाँहरूसँग खाद्यान्न किन्न सक्ने हैसियत हुने भएकाले खाद्यान्नको सट्टा त्रिपाल दियौँ,’ उनले भने, ‘हामीले गरेको सहयोगले राउटे समुदायलाई राहत मिल्ने अपेक्षा गरेका छौँ ।’
पहिलो पटक राउटे बस्ती पुगेका तामाङले उनीहरूको जीवनशैली आफूहरूका लागि अनौठो लागेको बताए । ‘अहिलेको जमानामा पनि घुमिरहने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने समुदाय छ भन्ने मात्रै सुनेको थिएँ, बस्तीमै पुगेर भेट्न पनि पाएँ,’ उनले भने, ‘यो समुदायको संरक्षण गर्नेतर्फ सबैले ध्यान दिन आवश्यक छ ।’
बादी बालबालिकालाई स्टेशनरी र खाद्यान्न
राङ्ज्युङ ये शेनफनले सुर्खेतको वीरेन्द्रनरमा रहेको बादी सरोकार मञ्चको संरक्षणमा रहेका एक सय १० बालबालिकाका लागि स्टेशनरी र खाद्यान्न सहयोग गरेको छ । बालबालिकाहरूलाई कापी, कलम, पेन्सिल र खेल सामाग्रीका साथै खाद्यान्न दिइएको तामाङले बताए । ‘बादी समुदायका बालबालिकाका लागि खाद्यान्न अभाव रहेको जानकारीमा आएपछि सहयोग गरेका हौँ,’ उनले भने, ‘आगामी दिनमा पनि यस्ता खाले सहयोगलाई निरन्तरता दिन्छौँ ।’
बादी सरोकार मञ्चका अध्यक्ष हिम्मत बादीले १५ बोरा चामल, चार बोरा दाल, ३० पोका लेतसहित चिउरा, चिनी, साबुनलगायत प्राप्त भएको बताए । ‘यस्तै प्रत्येक बालबालिकाहरूलाई स्टेशनरी र खेल सामाग्रीहरू पनि उहाँहरूले उपलब्ध गराउनु भएको छ,’ उनले भने, ‘यो सहयोगले हामीलाई केही राहत मिलेको छ ।’
संस्थाले २०७१ सालको बाढीबाट विस्थापित भएर कर्णाली राजमार्गको गिरी घाटमा बस्दै आएका बाढीपीडितका छोराछोरीहरू अध्ययन गर्ने विद्यालयमा पनि स्टेशनरी सहयोग गरेको छ । कक्षा पाँचसम्मका ६० बालबालिकाहरूलाई स्टेशनरी लगायतका सामाग्रीहरू वितरण गरिएको हो ।