१४४ वर्षपछि जुरेको यो कुम्भ मेलामा भाग लिन हजारौं मानिस गइरहेका छन्। नेपालबाट पनि ठूलो संख्यामा भारतको प्रयागराज पुगेका छन्। २९ जनवरी राति १ बजे संगममा भएको भागदौडमा परी ३० जनाभन्दा बढीको ज्यान गइसकेको छ। ६० जनाभन्दा बढी घाइते भएका छन्।
मृत्यु भएकामध्ये २५ जनाको पहिचान भइसकेको बताइएको छ। मृत्यु हुनेमा अधिकांश गुजरात र असम राज्यका रहेको बताइएको छ। भागदौडमा धेरैलाई नदीभित्र घचेडिएको, केही मानिस किचिएको प्रत्यक्षदर्शीले बताएका छन्। सो घटनाका बेला नदीकिनारमा भागदौड, होहल्ला र रोदन मच्चिएको बिबिसीले जनाएको छ। सो भागदौडका कारण मान्छेले मान्छेलाई किच्दै भाग्नेहरूका कारण मानिसको ज्यान गएको बताइएको छ।
अधुरो तयारीका कारण यो घटना घटेको विपक्षीले आरोप लगाएका छन्। प्रहरी प्रशासन चुस्त व्यवस्थापनमा भन्दा आफ्नै प्रचारप्रसारको ढोल पिट्न व्यस्त भएका कारण पनि यस्तो घटना घटेको आरोप कांग्रेस पार्टीका अध्यक्ष मल्लिकार्जुन खड्गेले एक्समा लेखेका छन्।
सर्वसाधारणको सुरक्षाभन्दा भिआइपी लाई बढी महŒव दिइँदा यस्तो घटना घटेका कारण आइन्दा भिआइपीहरूलाई सामान्य जनतासरह व्यवहार गरिनुपर्नेसमेत एक्समा चर्चा चलेको छ।
यस्तो भागदौड हुनसक्ने आशंका पहिले नै गरिए पनि यसको तयारी नगरिएकामा मेला आयोजक तथा प्रहरी प्रशासनको चर्को आलोचना भएको छ।
यहाँ स्नान गर्न १० करोडभन्दा बढी श्रद्धालु आउने अपेक्षा मेला आयोजकको छ। भागदौडमा हराएका वा छुटेका कैयौं अझै सम्पर्कमा आइनसकेको भन्दै खोजीका लागि परिवारजन अर्को दौडधुपमा छन्।
कुम्भ भेलामा भाग लिन यस पटक अन्य बेलाभन्दा बढी भेला भएका थिए। भारत, नेपाल तथा संसारका अन्य कुनाबाट मेलामा नुहाउनका लागि भेला भएका थिए। सामान्य तीर्थालुदेखि साधु, सन्त, धार्मिक नेतासम्म कुम्भ स्नानका लागि पुगेका छन्। यो मेला हेर्न पर्यटकको पनि उत्तिकै घुइँचो लागेको छ।
यो मेला यति बृहद् छ कि अन्तरिक्षबाट समेत देखिन्छ। नासाका वैज्ञानिक डन पेटिटले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट खिचिएको तस्बिर हालै सार्वजनिक गरेका छन्। पृथ्वीबाट ४०० किमि माथिबाट लिइएको तस्बिरमा झिलिमिली देखिन्छ। पेटिटको तस्बिरलाई एक्स प्लेटफर्ममा १० लाखभन्दा बढीले हेरेका छन्।