☰ open Loading... 23 February 2025|  

अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ को मृत्यु
पश्चिम नेपाल   | १७ माघ २०८१, बिहीबार १४:२२

अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो ।

उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ । बीबीसीका अनुसार उद्धारका लागि करिब ३ सय आपत्‌कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ ।

रातको समय र वासिङटनको तापक्रम कम भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ । डिसीका आगलागी तथा आपत्‌कालिन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरले अँध्यारो र धमिलो पानी भएकाले उद्धारमा कठिनाइ भएको बताएका सीएनएनले जनाएको छ ।

चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा हेलिकप्टरसँग ठोकिएको हो ।