अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दोषी ठहर भएका गोल्डमेडलिष्ट उपसचिव प्रमोद नेपाल विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेष अदालतको दोषी ठहर गर्ने फैसलामा चित्त नवुझाउँदै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
अख्तियारले शुक्रवार पूनरावेदन निवेदन सर्वोच्चमा पेश गरेको थियो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले अख्तियारको पूनरावेदन दर्ता भएको बताए । अब उनी विरुद्ध सर्वोच्चमा विशेषको फैसला मिले/नमिलेको बारे बहस हुनेछ। नेपाल सरकारले छात्रवृत्तिमा बेलायत पढेर फर्केका नेपाललाई भावी मुख्यसचिवको रुपमा हेरिएको थियो । तर उनी घुससहित अख्तियारको स्टिङ अप्रेशनमा परेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दा गोल्ड मेडल पाएलगत्तै उपसचिव नेपाललाई नेपाल सरकारले छात्रवृत्तिमै थप अध्ययनका लागि बेलायत पठाएको थियो । छात्रवृत्तिको अध्ययन सकाएर नेपाल पक्राउ पर्नुभन्दा ८ महिना अगाडि मात्रै नेपाल फर्किएर पर्यटन मन्त्रालयको हवाई उड्डयन महाशाखामा काम गर्न थालेका थिए ।
उक्त महाशाखाको हवाई सम्झौता तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन शाखाको प्रमुख थिए । उनी एउटा नीजि कम्पनीको अनुमतिपत्रका लागि घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए । विशेष अदालतले नेपाललाई २०८० माघ १९ गते भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद र ६ लाख जरिवाना हुने फैसला सुनाएको थियो ।
नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको थियो । अख्तियारले सफाई दिने निर्णय बदर हुनुपर्ने र नेपालको हकमा पनि विगो र सजाय थप हुनुपर्ने दावी गरेको छ।
बीबी एयरवेजको इजाजत पत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । यद्यपि बीबी एय रवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस दिएको नभई सापटी दिएको बयान दिएका थिए । सापटी दिएको भएपनि सरकारी कर्मचारीले रकम लिनु गलत भएको भन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो ।