☰ open Loading... 22 February 2025|  

नदी, खोला, बिरुवा, स्थान अर्थात् राउटेका नाम
पश्चिम नेपाल   | २३ माघ २०८१, बुधबार १२:५३

माघ पहिलो साता घुमन्ते समुदाय राउटेको बस्तीमा दुई सन्तानको जन्म भयो। वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीनजिकै बस्दै आएको यो समुदायका कलह शाही र भान्टा शाहीले सन्तान जन्माएका थिए। बच्चा जन्मिएको तेस्रो दिन महिलाहरूले उनीहरूको नाम जुराए, रानीघाट र गिरीघाट।

राउटे समुदायले आफ्ना सन्तानको नाम कसरी राख्छन् भन्ने यो एक उदाहरण हो। भेरी नदीनजिकै उनीहरू बसिराखेको बस्तीबाट गिरीघाट खोला बग्छ। बस्तीदेखि झन्डै एक किलोमिटर दुरीमा रानीघाट छ। बस्तीको उत्तरतिर कलहको घर थियो। त्यहीँ घरमा जन्मेकी छोरीको नाम गिरीघाट राखियो। बस्तीको दक्षिणतर्फ भान्टा शाहीको घर थियो। भान्टाले छोरा जन्माइन्। छोराको नाम रानीघाट राखियो।

राउटे समुदायले आफू बसेको स्थान, रूख, नदी, गाउँका नाम आदिबाट सन्तानको नाम राख्ने गर्छन्। २०७० सालमा राउटे समुदाय सुर्खेतमा थियो। नायिका रेखा थापा राउटे भेट्न र उनीहरूका बच्चाहरूलाई पढाउने भन्दै सुर्खेत आइन्।

केही समय उनले राउटे बस्तीमा बिताइन्। त्यहीबेला फेलेरी शाहीले छोरा जन्म दिइन्। महिलाले उनको छोराको नाम रेखा थापा शाही राखिदिइन् । दैलेखको भैरवी गाउँपालिकामा हुँदा मुखिया डिलबहादुर र झुम्राल शाहीको कोखबाट छोराको जन्म भयो। त्यहाँ अयाँरका रूख धेरै थिए। उनीहरूका छोराको नाम अयाँर रहन गयो।

सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघिसम्म राउटे समुदायले बच्चा जन्मिएको १५औं दिनमा नाम राख्ने गथ्र्यो। अहिले भत्ताका लागि जन्म भएको तेस्रो दिनमै सन्तानको नाम राख्ने चलन छ। राउटे समुदायमा बच्चाको नाम जुराउने काम महिलाहरूले गर्छन्। सुत्केरी हुँदा जसले स्याहार गर्‍यो उसैले नाम जुराउने मुखिया सूर्यनारायण शाही बताउँछन्।

‘पहिलेपहिले जन्मिएको १५औं दिनमा नाम राखिन्थ्यो, आजभोलि दुई–तीन दिनमै नाम राख्ने चलन छ,’ उनले भने, ‘बच्चाको नाम महिलाहरूले राख्छन्।’

राउटे समुदायको बोलीचालीको भाषा खाम्ची हो। उनीहरूले आफ्नो समुदायमा बोलाउने नाम भने फरक हुन्छ। बाह्य समुदाय र सामाजिक सुरक्षा भत्ता बुझ्न उनीहरूले स्थान, रुख, बिरुवा, खोला आदिका नामहरू राख्ने गरेको हिरासिंह थापाले बताए।

‘खासमा उनीहरूले आफ्नो समुदायभित्र बालबालिकालाई फरक नामले बोलाउँछन्, बाह्य समुदाय र सामाजिक सुरक्षा भत्ताका लागि राखिएका नामहरू रूखबिरुवा, खोला नदी, ठाउँअनुसारका हुन्छन्,’ उनले भने।

घुमन्ते राउटे समुदायको अहिलेको संख्या जम्मा १३६ हो। यीमध्ये आधा जतिको नाम रूख, जन्मिएको स्थान र नदीसँग जोडिएको छ। सल्यानको काल्चेमा हुँदा बैरा शाहीले सन्तान जन्माइन्। उनको नाम काल्चे रहन गयो। अछामको कमल बजारनजिकैको बस्ती गएको बेला भान्टाले छोरा जन्माइन्। उनलाई कमलबजार शाही नाम दिइयो।

दैलेखको टुनीबगरमा बस्ती हुँदा नवीनाले छोरालाई जन्म दिइन्। उनको नाम टुनी राखियो। स्थान विशेषसँगै उनीहरूले रूखका नामबाट पनि बच्चाको नाम राख्ने गरेका छन्। सालकुमारी, टुनी, सल्ली, धयर, दुदिलो, सिलंगी, बयर, रैनी, सिमल आदि नाम रूखका आधारमा राखिएका हुन्। पानीखोला, असारा, बडाखोला, तिला, मुगु आदि नाम नदीका आधारमा राखिएका हुन्।