☰ open Loading... 22 February 2025|  

४७ वर्षपछि वन कार्यालयले पायो नयाँ भवन
पश्चिम नेपाल   | २५ माघ २०८१, शुक्रबार १६:५६

दैलेखमा रहेको डिभिजन वन कार्यालयले ४७ वर्षपछि सुविधासम्पन्न नयाँ भवन पाएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्धारित समयसिमाभन्दा अघि निर्माण सम्पन्न भएको हो ।

२०३४ सालअघि जिल्ला प्रशासन कार्यालयमा वन शाखाको रुपमा रहेको थियो । २०३४ सालमा वन डिभिजन कार्यालयका रुपमा विकसित भई निरन्तर पुरानो भवनबाट कामहरु हुँदै आएको थियो । नयाँ भवन आर.वी कन्ट्रसन दैलेखले समयसिमाभन्दा १ महिनाअघि सम्पन्न गरी हस्तान्तरण गरेको हो । ३ करोड १५ लाख भ्याटसहित रकममा बनाएको उक्त भवन सुविधासम्पन्न तरिकाबाट डिजाईन गरिएको कम्पनीका प्रोपराईटर रुपक थापाले बताए ।

साढे दुई तलको भवनमा कार्यालय सञ्चालनदेखि ईजलास कक्ष, थुनुवा कक्ष र कार्यालय प्रमुखको आवास पनि बनाईएको छ । ४७ वर्षपछि नयाँ भवनमा कार्यालय सरेपछि कामकार्वाही अँझ सहज हुने कार्यालयका कर्मचारीहरुले बताए । काम सम्पन्न भएपनि भवनको बजेट अभावका कारण अँझै निर्माण कम्पनीले पाउन सकेका छैन् ।

नयाँ भवन उद्घाटन भई सञ्चालनमा आएको डिभिजन वन कार्यालयका प्रमुख राधा कृष्ण दासले बताए । पुरानो भवन हुँदा चुईने लगायतका समस्याले कार्यालयको काम गर्न गाह्रो हुने गरेको थियो । एक कार्यक्रमका माँझ शुक्रवार कर्णालीका उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री सुरेश अधिकारीले भवनको उद्घाटन गरेका छन् । भवनको पूर्व मन्त्री कृष्ण कुमार विसीले शिल्यान्यास गरेका थिए ।