पश्चिम नेपाल | ३० माघ २०८१, बुधबार १९:०४
काठमाडौंको शंखरापुर नगरपालिका–५ स्थित कात्तिके-साँखु सडकखण्डमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ।
बा २ ख ७९५८ नम्बरको उक्त बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।
सत्यसाई (एसएस) स्कुल, मैजुबहाल चाबहिलका विद्यार्थीहरू बोकेको बस दुर्घटनाग्रस्त भएको हो। बसमा करिब ४० देखि ५० जना विद्यार्थी सवार रहेको अनुमान गरिएको छ, तर यकिन विवरण आउन बाँकी रहेको एसपी बोहोराले बताए।
प्रारम्भिक अनुसन्धानअनुसार घुम्तीबाट मोडिन नपाउँदै बस सिधै सडक किनारको कान्लाबाट तल खसेको प्रहरीको अनुमान छ।
दुर्घटनामा परी दुई जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको छ। बसमा ३९ जना विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ।
घट्नाको थप विवरण आउन बाँकी छ ।