दैलेखमा एक बालकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । गत माघ २५ गते हराएका ति बालकको शव आफ्नै साथीहरुले हत्या गरेर गाडीएको अवस्थामा शनिवार प्रहरीले फेला पारेको हो ।
दुल्लु नगरपालिका–५ बस्ने ११ वर्षीय बालक परिवर्तित नाम राजनको आफ्नै साथीहरुले हत्या गरिएको अवस्थामा घर नजिकै रहेको बाँसभारीमा प्रहरीले शव भेटाएको छ ।
माघ २५ गतेदेखि सम्पर्कबिहीन भएका राजनलाई खोजी दिन परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । हराएका बालकको हुलिया परिपत्र गरि खोजतलास कार्य गरेको र उनीसँगै रहेका साथीहरुले अनुसन्धानको क्रममा सोधपुछ गर्दा आफूहरुले हत्या गरेको बताएका थिए ।
चोरी गरेर ल्याएको सुनको गहना (तिलहरी) बिक्री गर्ने बिषयमा आपसमा बिवाद हुँदा राजनलाई माघ २५ गते राती नै हत्या गरेर घर नजिकै रहेको खोलामा खाल्डो खनी गाडेका बयान प्रहरीले दिएका थिए ।
यहीँ फागुन ३ गते प्रहरी टोली घटनास्थलमा पुगेर खाल्डो खनेर उनको शव निकालेको हो । ‘अनुसन्धान गर्ने क्रममा बाँसघारी नजिकैको खोल्साको छेउमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालयका दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले भने, ‘गाडेको अवस्थामा हराएका भनिएका बालकको शव फेला परेको र घटनामा संलग्न दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं ।’
हत्यामा संलग्न दुवै जना बालकहरु रहेकाले उनीहरुको नाम प्रहरीले खुलाएको छैन् । उनीहरु विरुद्ध जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरी निरीक्षक सुनारले बताए ।