☰ open Loading... 22 February 2025|  

कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटनामा श्रीमान्-श्रीमतीसहित ३ जनाको मृत्यु
पश्चिम नेपाल   | ५ फाल्गुन २०८१, सोमबार १५:२४

भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गिता शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किंदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।

युपी५३एफडी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर दुर्घटना भएको जानकारी आएको सेनले बताए ।

दुर्घटनामा परी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा देवदह-९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय प्रहरीबाट जानकारी आएको इन्स्पेक्टर सेनले बताए ।

फागुन ३ गते देवदहबाट महाकुम्भ मेला स्नान गर्न पाँचवटा गाडीमा ३५ जना भारत गएकोमा नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो ।