☰ open Loading... 22 February 2025|  

विद्यार्थी वर्षौंदेखि भुईँमै बसेर अध्ययन
पश्चिम नेपाल   | ७ फाल्गुन २०८१, बुधबार १८:०२

दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटस्थित नैनेल आधारभूत विद्यालयका विद्यार्थी वर्षौंदेखि भुईँमै बसेर अध्ययन गर्न बाध्य छन्। विद्यालयमा आवश्यक बेन्च तथा टेबुलको अभावले विद्यार्थीको सिकाइ प्रक्रियामा कठिनाइ भएको छ।

स्थानीय नगर सरकार र अन्य सरोकारवाला निकायबाट आवश्यक बजेट उपलब्ध नहुँदा विद्यालय स्थापनादेखि नै विद्यार्थीहरू भुईँमै बसेर पढ्न बाध्य भएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश विकका अनुसार पटक–पटक अनुरोध गर्दा पनि स्थानीय सरकार तथा सम्बन्धित निकायले बेन्च व्यवस्थापनमा चासो देखाएको छैन।

विद्यालयमा भौतिक पूर्वाधारको अभावले विद्यार्थीहरूको सिकाइमा थप असर परेको छ। यहाँ न मात्र बेन्च र टेबुलको अभाव छ, विद्यालय भवनसमेत जीर्ण अवस्थामा रहेको प्रधानाध्यापक नमराज जैसी बताउँछन्।

उनका अनुसार चिसो मौसममा पुरानो जीर्ण भवनभित्र भुईँमै बसेर पढ्दा विद्यार्थी बिरामी पर्ने गरेका छन्। विद्यालयमा हाल १३२ जना विद्यार्थी अध्ययनरत छन्, जसमा ७७ छात्रा र ५२ छात्र रहेका छन्।

“विद्यालयको दयनीय अवस्था सबैलाई थाहा छ, तर समाधानका लागि पहल गर्ने कोही छैन,” प्रधानाध्यापक जैसी भन्छन्। उनका अनुसार विद्यालय घेरवारको समेत अभाव छ, जसले सुरक्षाका दृष्टिले थप चुनौती सिर्जना गरेको छ।

विद्यालयमा हाल कार्यालय सहयोगीसहित जम्मा चार जना शिक्षक मात्रै कार्यरत छन्। कम संख्याका शिक्षकले कक्षा ५ सम्मका विद्यार्थीलाई पठनपाठन गराउन हम्मेहम्मे पर्ने प्रधानाध्यापक जैसीले बताए।