चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई स्नातकोत्तर तहमा २६ सिट पढाउन अनुमति दिएको छ । चिकित्सा विज्ञान अध्ययनका लागि विभिन्न विधामा २६ सिट अध्यापन गराउन अनुमति दिएको हो ।
यस वर्ष चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २६ सिट स्वीकृत गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलले जानकारी दिए । चिकित्सा शिक्षाले अनुमति दिएसँगै स्नातकोत्तर सुरु गर्ने कर्णाली प्रतिष्ठानको सपना पूरा भएको उनले बताए । ‘एमडीएमएसका धेरै सिटमा चिकित्सा शिक्षा आयोगले पहिलाभन्दा दोब्बर सिट प्रदान गरेको छ,’ उनले भने, ‘यो समग्र कर्णालीवासीका लागि सुखद सन्देश हो ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एडल्ट हेल्थ नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ र वुमन हेल्थ नर्सिङमा दुई–दुई सिट, एनाटोमीमा एक सिट, फर्मनकोनोलोजीमा पाँच सिट, पब्लिक हेल्थमा पाँच सिट, बालरोगमा तीन सिट, शल्यचिकित्सा, एनेस्थेसियामा एक–एक सिट, हाडजोर्नी तथा ट्रमामा दुई सिट र सामान्य चिकित्सा अभ्यासमा दुई सिट पढाउने अनुमति पाएको हो ।
‘कर्णालीमा विशेषज्ञ चिकित्सक उत्पादन हुनु यहाँको स्वास्थ्य सेवा आत्मनिर्भर बन्दै जानु हो,’ उपकुलपति डा. रावलले भने, ‘अब कर्णालीले बिरामीको मात्र उपचार गर्दैछैन, डक्टरी उत्पादन गरेर दुर्गममा स्वास्थ्य सेवा दिन पठाउँदै छ ।’