☰ open Loading... 28 February 2025|  

कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
पश्चिम नेपाल   | १३ फाल्गुन २०८१, मंगलवार ०७:३०

कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूमा जनशक्तिको अभाव देखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको रिपोर्ट अनुसार स्वास्थ्य सेवा ऐनमा गरिएको व्यवस्था कार्यान्वयनका लागि कर्णालीमा स्वास्थ्य जनशक्ति अपुग रहेको उल्लेख गरेको छ ।

अहिले प्रदेशमा स्वास्थ्यसँग सम्बन्धित स्थायी कर्मचारीको दरबन्दी जम्मा ९०९ जनाको छ । उक्त दरबन्दीमध्ये ३२७ जनामात्र स्थायी पूर्ति भएको मन्त्रालयले जनाएको छ ।

स्थायी दरबन्दी खाली रहेको स्थानमा करारको माध्यमबाट पूर्ति गरिएको मन्त्रालयले प्रस्ट पारेको छ । करार तथा अस्पताल विकास समितिबाट भर्ना गर्दा पनि स्वास्थ्य संस्थाहरूले दरबन्दी अनुसार कर्मचारी पाउन सकेका छैनन् ।

मन्त्रालयको तथ्याङ्क अनुुसार करार र अस्पताल विकास समितिका तर्फबाट गरी ८१८ जना पूर्ति गरिएको छ तर प्रदेशको स्वास्थ्य ऐनमा व्यवस्था भए अनुरूपको जनशक्ति छैन ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, ०७८ ले कर्णाली प्रदेशमा कम्तीमा एउटा वडामा एउटा स्वास्थ्य संस्था हुनुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गर्ने संस्था जम्मा ८९२ वटा छन् ।

प्रदेशका कुनै पनि स्वास्थ्य संस्थाले पूर्ण रूपमा दरबन्दी अनुसार जनशक्ति पाउन नसकेको प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।

प्रदेशको सबैभन्दा ठुलो प्रदेश अस्पतालमै स्वीकृत दरबन्दी अनुसार जनशक्ति छैन । ३२५ दरबन्दी रहेको प्रदेश अस्पतालमा स्थायी कर्मचारीको संख्या जम्मा १६३ मात्रै छ ।