तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्वसांसदका छोरालाई कुटपिट गरेका छन्। श्रेष्ठले भीमाद नगरपालिका–६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा ५७ वर्षीया प्रभात आलेलाई कुटपिट गरेका छन्।
कुटाइ खाएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन्। कुट्ने गाउँपालिका अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत हुन्।
घटना फागुन ७ गते रातिको हो। प्रहरीले जाहेरी लिन नमानेपछि बल्ल घटनाबारे सार्वजनिक भएको छ। जग्गाको विषयमा भएको विवादले गाउँपालिका अध्यक्षले आफूमाथि कुटपिट गरेको आलेले बताए। आलेका अनुसार भाइ विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए। ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति थियो। सहमति कार्यन्वयन नभएपछि विवाद सुरु भयो।
विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको उनका आरोप छ। ‘मैले उहाँलाई फोनमार्फत लौ यो विषय टुंग्याम भन्दाखेरिमा उहाँले घर आइज न त भनेर भनेपछि मेरो उहाँसँग एक मिनेटमात्रै कुरा भाछ। तुरुन्त घर गएँ’, प्रभातले भने, ‘उहाँको श्रीमतिले ढोका खोल्नुभो। झड्याम झड्याम देब्रेपट्टि फिलामा पिभिसी पाइप..। यो नियोजित पहिल्यै तयारी गरेर पिभिसीको ठूलो पाइपले हाने। मैंले दुई तीन चोटी छेकें। उहाँले दुई हातले हानेर कानको जालीमा हानेर कान पनि सुन्दिनँ।’
प्रभातले मंगलबार तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गराएको बताए। जिपी अस्पातलले थप परीक्षणका पोखरा गएर गर्नुपर्ने बताएको उनको दाबी छ।
आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए। फागुन ७ गते बेलुका ८ बजेर ५५ मिनेटको समय आसपासमा प्रभात आफैंले फोन गरेको श्रेष्ठ बताउँछन्। आफूले भोलि कुरा गरौंला सम्मानसाथ भनेको सुनाए।