नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको तनावले एक जनाको ज्यान लिएको छ ।
बेलापुरस्थित १९ वर्षीया सहाना खातुनलाई सोही ठाउँका २२ वर्षीय डाक्टर धोबीले भगाएको विषयको विवादमा एक जनाले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार विवाद बढ्दै जाँदा केटीका दाइले अर्को पक्षलाई लक्षित गरी पिकअप गाडीले ठक्कर दिएका थिए । त्यसक्रममा दुई जना घाइते भएकोमा उपचारको क्रममा एक जनाको मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
पिकअप भ्यानले ठक्कर दिएपछि आक्रोशित केटा पक्षले केटीको दाइको कवाडी गोदाममा आगो लगाइदिएका थिए । त्यसपछि केटी पक्षका करिब चार सय स्थानीय जम्मा भई टायर बालेर महेशपुर–परासी सडकखण्ड अवरुद्ध बनाएका थिए ।
सोही समूहले इलाका प्रहरी कार्यालय महेशपुरको एउटा गाडी जलाएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले केही सेल अश्रु ग्याँस फायर गरेको थियो । स्थिति नियन्त्रण बाहिर जान थालेपछि सशस्त्र प्रहरीको प्र.सि.सु. गुल्म हरपुरबाट ६३ जना सुरक्षाकर्मी परिचालित गरिएको थियो ।