कर्णाली प्रदेशको सत्ता सञ्चालनबारे नेपाली कांग्रेस र नेकपा (एमाले)बीच असमझदारी देखिएको छ । मुख्यमन्त्री यामलाल कँडेलले एक्लै सत्ता चलाएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको हो । कांग्रेस कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको आकस्मिक बैठकले मुख्यमन्त्री कँडेलले एक्लै सत्ता चलाइरहेको निष्कर्ष निकालेको हो ।
कँडेलले यसैगरी सत्ता चलाइरहे सरकारबाट बाहिरिन सक्नेसमेत कांग्रेसले चेतावनी दिएको छ । सरकारबाट जुनसुकै बेला बाहिरिन सक्ने भन्दै कांग्रेसका मन्त्रीहरूलाई तयार रहन भनिएको स्रोत बताउँछ । ‘हामी कोही पनि सांसदहरू सरकारको कामप्रति खुशी छैनौं,’ कांग्रेसका एक सांसदले लोकान्तरसँग भने, ‘सरकार भन्ने एक र गर्ने अनेक रणनीतिका साथ अघि बढिरहेको छ । यसरी सरकार एकलौटी रूपमा अघि बढेको खण्डमा सरकारमा सहभागी भइरहनु पर्छजस्तो हामीलाई लाग्दैन ।’
ती सांसदका अनुसार मन्त्रीहरूले नै सरकार के गर्दैछ भन्ने कुराको जानकारी नहुने गरेको भन्दै बैठकमा दुखेसो पोखेका थिए । ‘हामी सरकारमा छौं तर, काम शून्य छ, ‘एक मन्त्रीले भने, ‘हामी ठूलो दलको भएको भए पनि एमालेको एकल सरकार भएजस्तो भान मुख्यमन्त्रीले गराइरहनुभएको छ । संसदीय दलको बैठकले उहाँलाई सुध्रिन आग्रह गर्ने निर्णयसमेत गरेको छ । सबै सांसदले सरकारको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।’
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि प्रदेश सरकारले जनताको चाहनाअनुसार काम गरेन भन्ने गुनासो आएको बताए । ‘सरकार सञ्चालनमा सत्ता पक्षबीच छलफल हुनुपर्ने हो । मुख्यमन्त्री कँडेलले हालसम्म त्यसरी छलफल गर्नुभएको छैन,’ उनले भने, ‘सरकारले गर्ने निर्णय र काम पनि ठूलो दललाई थाहा नै नहुने अवस्था आएको छ । त्यो सुध्रिनुपर्छ भन्ने हो ।’
उनले पनि सरकारको व्यवहार नसच्चिए जुनसुकै बेला पनि बाहिरिन सक्ने बताए । मुख्यमन्त्री कँडेल एकल बहुमतको सरकार भए जसरी अघि बढ्न खोजेको उनले आरोप लगाए । तर, अहिले प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सँग तत्काल सहकार्यको सम्भावना भने नरहेको बताए । ‘अहिले माओवादीसँग सत्ता सहकार्यको सम्भावना कम छ । हामीले चाहेर मात्रै हुँदैन,’ नेता शाहीले भने, ‘तर हामी सरकारबाट त बाहिरिन सक्छौं नि !’
लोकान्तरबाट