जुम्लाको हिमा गाउँपालिका -७ की चन्ना न्याैपानेको मुहारमा धेरैपछि खुसी छाएको छ। लामो समयको खडेरीले गहुँ-जौँलगायत बाली सुक्न थालेपछि चिन्तित बनेकी उनलाई बिहीबार रातिदेखि परेको हिउँले राहत दिएको हो। ‘लामो समयदेखि हिउँकै प्रतीक्षामा थियौं,’ न्याैपानेले भनिन्, ‘हिउँले सुबिकालको आशा पलाएको छ।’
लामो समयपछि जुम्लामा हिमपात भएपछि किसान खुसी भएका हुन्। हिमपात भएपछि उच्च लेकाली बस्ती सेताम्मे बनेका छन्। हिउँ परेपछि अन्नबाली, जाैँ, गहुँ बालीसहित स्याउ र ओखर सप्रिने भन्दै किसान उत्साही भएका हुन्। बालीमा रोगकिराको प्रकोप कम हुने र उत्पादन बढ्ने भन्दै किसानले हिमपातलाई सुबिकालको रूपमा लिने गरेका छन्।
‘ढिलै भए पनि हिउँ पर्यो,’ सिंजा गाउँपालिका-६, की संगिता राेकायाले भनिन्, ‘अब अन्न र स्याउ, ओखर आरु, लगायत फलफूलको उत्पादन बढ्ने अपेक्षा छ।’ उनले अहिले भएको हिमपातले जमिनमा चिस्यान हुने बताइन्। ‘बाली सपार्न हिउँकै प्रतीक्षामा थियौं,’ उनले भनिन्, ‘लामो खडेरीले लगाएको बाली सुकेको थियो, अब उब्जनी बढ्ने आश छ।’ अब लेकाली बस्तीमा आलु लगाउन पनि सहज भएको उनको भनाइ छ।
‘खडेरीले बाली सुकेर कृषक हैरान थिए,’ उनले भनिन्, ‘यतिखेर कृषकका लागि अमृत वर्षा भयो।’ यस्तै पातारासी गाउँपालिका -६ का जनम महताराले भने, ‘केही दिनअघिसम्म काला हिमाल देखेर मनै खसक्क हुन्थ्यो हेर्नै मन लाग्दैनथ्यो। अहिले बल्ल हिउँले हिमाल हिमालजस्ता देखिन थालेका छन् । खेतबारीसमेत सेताम्मे भएका छन्।’
हिउँदे वर्षा भएसँगै माटो रसिलो भएको बताउँदै उनले खेतीपाती पनि सप्रिनेमा आशा जागेको बताए । यसअघिसम्म यी हिमालहरू काला र उराठलाग्दा देखिन्थे। अनावृष्टिका कारण महताराको हराएको निद्रा हिउँदे वर्षासँगै फर्किएको छ। लामो समयसम्म हिउँदे वर्षा नहुँदा बाली सुक्न थालेपछि अनिकालको चिन्ताले उनलाई निद्रा पर्न छाडेको थियो। ‘यत्रो खेती त्यसै सुक्ने भयो भन्ने चिन्ताले मलाई मात्रै होइन, सबै जिल्ला बासीलाई सताएको थियो। आकाशे पानीको भरमा खेती गर्ने हिमाली क्षेत्रका किसानको वर्षाले केही राहत दिलाएको छ। जति धेरै हिउँ आयो, उति धेरै जेठबाली र स्याउ, ओखरलगायतका फलफूलको सुबिकाल आउँछ। वर्षा र हिउँ परेपछि धुलो हटेर रुघाखोकीको बिराम पनि कम हुन्छ,’ उनले भने।
हिउँ नपर्दा यहाँका किसानले डरैडरले स्याउ बगैंचा व्यवस्थापन गरेका थिए। हिउँले जमिन चिसो राखेर स्याउ बगैंचामा सिँचाइको काम गर्ने छ। जुम्लाका पातारासी, काञ्जीरोवा, भुरीचुला र चिमारामालिका हिमालसमेत सेताम्मे देखिएका छन्।
यता कृषि विकास कार्यालय जुम्लाका अनुसार ३ हजार हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ। अधिकांश बाली सुख्खा पाखो बारीमा लगाइन्छ। हिउँदे बालीका रुपमा रहेको जौ १ हेक्टर क्षेत्रफलमा १ हजार ५ सय केजी उत्पादन हुन्छ भने गहुँ प्रति हेक्टर २ हजार १ सय केजी उत्पादन भइरहेको छ।
यस्तै जुम्लाको खेतीयोग्य जमिन हेक्टर २४ हेक्टर छ, जसमध्ये २१ हजार हेक्टर क्षेत्रफल पाखोबारीले समेटिएको छ। जुम्ला समुद्र सतहदेखि २ हजार १ सय वर्गमिटरभन्दा उचाइमा अवस्थित छ।