☰ open Loading... 19 March 2025|  

कर्णालीवासीको घरको बिमा गर्दै प्रदेश सरकार
पश्चिम नेपाल   | २० फाल्गुन २०८१, मंगलवार १९:२२

कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपद्‌बाट हुने क्षतिबाट बचाउन कर्णाली सरकारले ‘घर बिमा’ कार्यक्रम सुरु गर्न लागेको छ । जसका लागि घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि-२०८१ कार्यान्वयनमा ल्याइएको छ ।

उक्त कार्यविधि गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । कार्यक्रमका लागि सरकारले अधिकतम प्रतिघर २० लाख रुपैयाँको बिमांक बराबरको जोखिम मूल्यांकनबाट हुन आउने बिमा शुल्क बापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । यसका लागि प्रदेश सरकारले यो वर्ष ४ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ ।

कार्यविधिअनुसार भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत ९ प्रकारका विपद्‌बाट क्षतिग्रस्त भएका घरको बिमामार्फत क्षतिपूर्ति दिइनेछ ।

एक परिवारका लागि एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए ।