जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको ९एन-एएनएच जहाजको अगाडिको पांग्रा उड्ने क्रममा जनकपुरमै खसेको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार पांग्रा खसेकोबारे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र पत्ता लागेको थियो।
प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार बिहीबार अपराह्न ४:४५ बजे जनकपुर विमानस्थलबाट उडेको जहाजका पाइलट तथा उडान दललाई उडानकै क्रममा पांग्रा खसेको कुनै जानकारी थिएन। न त उडानका क्रममा कुनै असामान्य गतिविधि नै महसुस गरिएको थियो।
विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि गरिएको नियमित प्राविधिक निरीक्षणका क्रममा नोज ल्याण्डिङ गियर (अगाडिको पांग्रा) हराएको देखिएपछि यसको खोजी थालिएको थियो। सो क्रममा जनकपुर विमानस्थलमा सम्पर्क गर्दा जहाज उड्ने क्रममा नै पांग्रा रनवे नजिकै खसेको पुष्टि भएको प्रवक्ता भुलले जानकारी दिए।
‘पांग्रा जनकपुर विमानस्थलको रनवेको टर्निङ प्याडमा भेटिएको थियो। के कारणले यस्तो भयो भन्नेबारे अनुसन्धान भइरहेको छ। ल्याण्डिङ गियरको इन्डिकेसन ककपिटमा नदेखिने भएकाले पाइलटलाई उडानकै क्रममा यसबारे जानकारी हुन सकेन,’ प्रवक्ता भुलले नागरिक न्यूजसँग भने।
विमानमा ६२ जना यात्रु सवार थिए, जसमा सबै सकुशल रहेका छन्। हाल जहाजलाई ग्राउन्डिङ गरिएको छ भने नागरिक उड्डयन प्राधिकरणले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।