☰ open Loading... 16 March 2025|  

टहरामा टिपर पस्यो, सुतिरहेका ३ जनाको मृत्यु
पश्चिम नेपाल   | २३ फाल्गुन २०८१, शुक्रबार १०:३४

शंखरापुर नगरपालिका–६, साँखुको सलम्बुटारस्थित सडकमुनि रहेको एक टहरामा टिपर पस्दा सुतिरहेका ३ जनाको मृत्यु भएको छ । टिपरले किच्दा २१ वर्षीय आकाश र सुमन तथा ४५ वर्षीय हरिजनको मृत्यु भएको हो । उनीहरूको थर र ठेगाना भने खुलिसकेको छैन ।

जस्तापाताले बनेको उक्त टहरामा द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बेसहारा बालबालिका र वृद्धवृद्धाहरूका लागि आश्रयस्थल सञ्चालन गर्दै आएको छ ।

साँखु-ब्रह्मखेल सडक खण्डअन्तर्गत शुक्रबार बिहान ३:१५ बजे सडकमा गुडिरहेको बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ सडकमुनि रहेको उक्त टहरामा पसेको थियो । टिपरले किचेर घाइते भएका उनीहरूलाई उपचारका लागि नेपाल मेडिकल कलेज पुर्‍यायए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ का २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा रहेका काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार आश्रयस्थलमा ६१ जना बस्दै आएका छन् ।