प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा रोजगारी खोज्ने भन्दा रोजगारी सृजना गर्ने हुनुपर्ने बताएका छन्। शुक्रबार (आज) मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उच्च शिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्य अनुसार नीति निर्माण, पूर्वाधार विकास र गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्ने काममा सरकार लागि रहेको बताए।
‘हाम्रो लक्ष्य देशलाई समृद्धिको नयाँ युगतर्फ अघि बढाउने हो, यसका लागि शिक्षा मूल आधार हो,’ मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘उच्च शिक्षालाई समाज र राष्ट्रको रूपान्तरणको अभिन्न अंग बनाउन सरकार प्रतिवद्ध छ।’ प्रधानमन्त्री ओलीले विश्व बजारलाई ध्यान दिएर जनशक्ति उत्पादन गर्न उनले विश्वविद्यालयलाई सुझाव दिए।
‘यहाँका अपार प्राकृतिक स्रोत र सम्पदा, विविधतायुक्त सामाजिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक आदि सन्दर्भलाई ध्यानमा राखी आफ्नो अध्ययन, अध्यापन र अनुसन्धानलाई अघि बढाउन सके मात्र विश्वविद्यालय स्थापनाको औचित्य पुष्टि हुन्छ,’ उनले भने, ‘उपलब्ध स्रोत र साधनलाई परिचालन गर्ने, प्राप्त ज्ञान र सीपलाई सामाजिक र राष्ट्रिय आवश्यकतामा उपयोग गर्ने दक्षता भएका मानव संशासनबाट नै विकास र समृद्धि प्राप्त हुन्छ। ’
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा सबै सुचकमा पछाडि रहेको बताउँदै प्रदेशहरूको सन्तुलित विकासमा सरकार केन्द्रीत रहेको बताए। ‘देशको राष्ट्रिय प्रतिव्यक्ति आय १४३४ अमेरिकी डलर पुग्दा कर्णालीको कुल आय १०६६ अमेरिकी डलर मात्र रहेको छ, अन्य प्रदेशहरूको तुलनामा कर्णाली प्रदेश पूर्वाधार, आर्थिक तथा सामाजिक सूचकहरूमा केही पछाडि परेको अवस्था छ,’ उनले भने, ‘नेपाल सरकार प्रदेशहरूको सन्तुलित विकासमार्फत मात्र समृद्ध नेपाल, खुशी नेपालीको सपना साकार हुने विषयमा स्पष्ट छ।’
प्रधानमन्त्री ओलीले दैलेखको पञ्चकोशी क्षेत्रमा सधियौंदेखि बलिरहेको ज्वालालाई धार्मिक दृष्टिकोणले मात्रै नहेरेर पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरेर देशको समृद्धिसँग जोड्ने कामको सुरुवात गरिएको बताए। ‘दैलेखका श्रीस्थान, नाभीस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोशी क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बलिरहेको थियो,’ उनले भने, ‘यसलाई देशको समृद्धिसँग जोडेर अगाडि बढाइएको छ, अहिले परीक्षणमा रहेको अन्वेषण कार्यको सफलताले आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्नेछ।’
प्रधानमन्त्री ओलीले देशको कुल ग्राहस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ८.५ प्रतिशत रहेको बताए। उनले त्रिभुवन विश्वविद्यालयबाहेक अन्य क्षेत्रीय विश्वविद्यालयमा विद्यार्थीको आकर्षण कमजोर रहेको बताउँदै मध्यपश्चिम विश्वविद्यालयले विद्यार्थीको रोजाईको बन्न प्रयास गर्नुपर्ने बताए। ‘देशका कुल उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरू मध्ये त्रिभुवन विश्वविद्यालयले मात्रै करिव ७९ प्रतिशत विद्यार्थीहरू भर्ना गरिरहेको छ, अरू विश्वविद्यालयहरूले २१ प्रतिशत विद्यार्थीहरू मात्र भर्ना गरिरहेको तथ्यबाट क्षेत्रीय विश्वविद्यालयहरूमा विद्यार्थीको आकर्षण कमजोर रहेको तथ्य उजागर हुन्छ,’ उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालयको आगामी शैक्षिकसत्रहरू क्रमशः विद्यार्थीको रोजाइको विश्वविद्यालय बन्दै जानेछ भन्ने विश्वास लिएको छु।’
प्रधानमन्त्री ओलीले अहिलेको युग कृत्रिम बौद्धिकता (एआई) को भएको बताउँदै शिक्षा युगस्तरीय र गुणस्तरीय हुन नसके मुलुकनै पछाडि पर्ने बताए। ‘प्रतिस्पर्धात्मक र सूचना प्रविधिको युगमा शिक्षा युगस्तरीय र गुणस्तरीय हुन आवश्यक छ,’ उनले भने, ‘यसो हुन नसकेमा मुलुक पछाडि पर्ने निश्चित हुन्छ।’ उनले शिक्षा भनेको केबल डिग्री प्राप्त गर्नु मात्रै नभएर जीवनलाई सही दिशा दिने मार्ग भएको बताए। उनले दीक्षित विद्यार्थीहरूको काँधमा समाज र राष्ट्रलाई अघि बढाउने जिम्मेवारी पनि रहेको बताए।