दैलेख – दैलेखमा एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका -८ की २८ वर्षीया मन्सरा बिकको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।
बच्चा भैसकेपछि अत्यधिक रक्तस्राव भएपछि बुधबार दिउसो करिब साढे तिन बजे हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागी प्रदेश हस्पिटल सुर्खेत पठाएको राकम कर्णालीस्थित आधारभुत अस्पतालमा कार्यरत डक्टर लोक जङ्ग शाही जानकारी दिए ।
जिल्लामा गर्भवती महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरीको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको आठबिस नगरपालिकाकि उप प्रमुख कल्पना थापा (चन्द) ले बताईन। उनले भनिन: “अकालमा ज्यान जान दिनुभएन त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।”
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।