☰ open Loading... 20 March 2025|  

जुम्लामा भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता वितरण
पश्चिम नेपाल   | ३ चैत्र २०८१, सोमबार ०७:०६

जिल्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ ।

आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए ।

जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि ४५ लाख प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो ।

मन्त्रालयको कार्यविध अनुसार फर्म दर्ताको प्रमाणपत्रसहित करचुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका २३० जना भेडापालक किसानलाई १८ हजारका दरले प्रोत्साहन स्वरुप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढ्थापाले बताए ।

जिल्लामा भेडा मात्र पाल्ने किसान करिब एक हजार सात सयभन्दा बढी छन् । यहाँका आठवटै स्थानीय तहमा ८८ हजार तीन सयभन्दा धेरै भेडा पालिएका छन् । प्रोत्साहन भत्ताबापत् १८ हजार पाएपछि थप भेडापालनमा टेवा पुगेको छ ।

आर्थिक अभावले व्यवसायलाई असर परेको थियो । सरकारले भेडापालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको ५० वटा भेडापालक किसान सिँजा गाउँपालिका–६ का सुवा रावतको भनाइ छ ।

सबैभन्दा बढी तातोपानी गाउँपालिकाका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।