राष्ट्रिय सडक सञ्जालसँग गत वर्षमात्रै जोडिएको डोल्पामा नगर बस सञ्चालनमा आएको छ । ठूलीभेरी नगरपालिकाले नगर बस सञ्चालन गरेर यात्रु ओसारपसार सुरु गरेको हो ।
गत सोमबारदेखि ३२ सिट क्षमताको बसले जुफाल, दुनै र त्रिपुराकोटसम्मको रुटमा यातायात सेवा सुरु गरेको नगरप्रमुख श्रवणकुमार बुढाले बताए ।
डोल्पा–जाजरकोट सडक खण्ड अन्तर्गत भेरी नदीमा बेलिब्रिज बनेपछि २०८० वैशाख अन्तिमतिर डोल्पा सदरमुकाम दुनैमा बस पुगेको थियो । २०७६ मा राष्ट्रिय सडक सञ्जालले छोएको डोल्पामा जीप भने २०६९ मै गुड्न थालेका थिए । सुरुमा हेलिकोप्टरबाट ल्याइएका दुई वटा जीप दुनै आसपास गुड्थे । दुनैका व्यापारी जनक बुढाले यात्रु र सामान ओसार्न ती जीप ल्याएका थिए ।
जिल्लामा ठूलीभेरी–९ डागीबाडाबाट जुफाल विमानस्थलसम्म करिब १ किलोमिटर र त्रिपुराकोट बजारबाट त्रिपुरासुन्दरी मन्दिर र पालिकाको केन्द्रसम्म जाने डेढ किलोमिटर सडक मात्रै कालोपत्र छ । स्थानीयलाई यातायातको सहज सुविधा दिने उद्देश्यले नगरबस सञ्चालनमा ल्याइएको नगरप्रमुख बुढाले बताए । उनका अनुसार जिल्लामा निजी सवारीसाधनले मनपरी भाडा लिने गरेका छन् । सेवाग्राहीले नगरपालिका कार्यालय पुग्न पनि चर्को भाडा तिनुपर्ने अवस्था छ । पालिकाले तत्कालका लागि २ सयसम्म भाडा तोकेको छ । ‘नागरिकलाई सस्तोमा सहज सुविधा दिन पालिकाकै बस सञ्चालन गरेका हौं,’ उनले भने, ‘कार्यपालिका बैठकबाट भाडा घटाउने विषयमा छलफल गर्नु पर्नेछ । गाडीका कर्मचारी, तेल र मर्मत खर्च उठे पुग्छ । अरु फाइदा, घाटा हेरेका छैनौं ।’
ठूलीभेरी नगरपालिकाको कार्यालय जुफालबाट सदरमुकाम दुनैसम्म १२, दुनैदेखि विमानस्थल हुँदै त्रिपुरासुन्दरीको त्रिपुराकोटसम्म करिब १७ गरी २९ किलोमिटरमा बस सेवा सञ्चालनमा आएको हो । यसलाई विस्तार गर्ने योजना बनाइरहेको नगरप्रमुख बुढाले बताए । यो दूरीमा यात्रा गर्दा यसअघि जीपमा सर्वसाधारणले ५ सय रुपैयाँ भाडा तिर्दै यात्रा गर्न बाध्य थिए ।
नगर बसमा भने कम भाडामा यात्रा गर्न पाउँदा सर्वसाधारण खुसी भएका छन् । बसले नागरिकको चाप हेरेर बिहानबाट साँझसम्म ओहोरदोहोर गर्छ । बस सञ्चालन भएपछि स्थानीयलाई कृषि उपज बजार लैजान र कार्यालय पुग्ने कर्मचारीलाई पनि सहजता भएको छ ।
ठूलीभेरी–९ का धनबहादुर डाँगीले बस चलेपछि ५ सय भाडा तिनुपर्ने बाध्यता हटेको सुनाए । नगरपालिकाले ५४ लाख रुपैयाँमा बस खरिद गरको हो । ‘स्थानीयलाई दैनिक कामको लागि पुग्नुपर्ने सरकारी कार्यालय सबै सदरकुमाममै, विमानस्थलमा पनि जानैपर्ने,’ नगर प्रमुख बुढाले भने, ‘यहाँ चल्ने बोलेरो जीपमा चाहिएको बेला चढ्न नपाइने, भाडा महँगो, ५ जनाको सिटमा धेरै बोक्ने गरेको थियो ।’
स्थानीयको सहजताका लागि सस्तो, सुलभ सेवा दिने उद्देश्य नगरबस सञ्चालन गरेको उनले बताए । डोल्पाको शेफोक्सुण्डो , डोल्पोबुद्ध, काइके र छार्का ताङसोङ गाउँपालिकामा सडक सुविधा छैन ।
ठूलीभेरी र त्रिपरासुन्दरी नगरपालिका तथा मुड्केचुला, जगदुल्ला गाउँपालिकाका सबैजसो वडामा ट्रयाक खुले पनि केही ठाउँमा मात्र बस चल्ने अवस्थाको सडक बनेको छ । कर्णालीमा मुगुको छायारारानाथ नगरपालिका, रुकुम पश्चिमको चौरजहारी र दैलेखको चामुण्डा बिन्द्रासैनीले पनि नगर बस सञ्चालन गरेका छन् ।