चालु आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि कर्णालीको पुँजीगत बजेट कार्यान्वयनले गति लिन सकेको छैन । यो अवधिमा पुँजीगत बजेटको जम्मा १५.१९ प्रतिशत अर्थात् २ अर्ब ८५ करोड २५ लाख ४० हजार ८३७.१७ रुपैयाँमात्रै कार्यान्वयन भएको छ ।
कुन महिना कति बजेट खर्च ?

८ महिनासम्म विकास बजेट कार्यान्वयनको अवस्था विश्लेषण गर्दा फागुन महिनामा सबैभन्दा बढी ४.४३ प्रतिशत कार्यान्वयनमा आएको छ । यद्यपि अर्धवार्षिक समीक्षापछि जुन रफ्तारमा विकास बजेट कार्यान्वयनमा जानुपर्ने थियो, त्यो अनुसार नभएको मन्त्रालयका कर्मचारी बताउँछन् ।
चालु आर्थिक वर्ष सरकारले ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । यही गतिमा सरकार अघि बढ्ने हो भने बढीमा ७० प्रतिशतसम्म बजेट कार्यान्वयनमा आउने अर्थ मन्त्रालयका एक कर्मचारीले बताए ।
‘माघपछि कम्तीमा अर्बको हाराहारीमा बजेट कार्यान्वयनमा आउनुपर्ने हो । ४ महिनामा १५ अर्बभन्दा बढी बजेटको कम्तीमा ५० प्रतिशत पनि कार्यान्वयन हुन मुस्किल हुन्छ,’ ती कर्मचारी भन्छन् ।
सरकारको बजेट कार्यान्वयनको गतिसमेत सन्तुलित देखिएको छैन । असोज महिनामा ६३ करोडभन्दा बढी बजेट कार्यान्वयनमा आउँदा माघ महिनामा घटेर ३५ करोडमात्रै कार्यान्वयमा आएको छ । कार्तिक, मंसिरमा १४÷१४ करोड बजेट कार्यान्वयनमा आउँदा पुुसमा फेरि ह्वात्तै बढेर ६५ करोड पुगेको छ ।
रातोपाटीबाट