कालीकोटको नरहरिनाथ गाउँपालिका–३ डाँडामाडु जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
मंगलबार साँझ ५:४० बजे सुर्खेतबाट कालीकोट जाँदै गरेको कर्णाली प्रदेश-०२००२ च ०७०७ नम्बरको जिप नरहरिनाथ–३, कुमालगाउँस्थित इलाका प्रहरी कार्यालयको पछाडि अनियन्त्रित भएर झण्डै २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, जिप ब्याक गर्ने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले जानकारी दिए।
दुर्घटनामा नरहरिनाथ–३ का २० वर्षीय राजेन्द्र विष्ट, २९ वर्षीय अनिलकुमार बुढा, ३५ वर्षीया विष्णु विष्ट, ४० वर्षीय दानबहादुर सहकारी, २८ वर्षीय गणेश आचार्य, ३५ वर्षीय अम्मरबहादुर विष्ट, नरहरिनाथ–५, रुप्साकी ४० वर्षीया देवी सहकारी, र दैलेख घर भएका २४ वर्षीय चालक जगत बिक घाइते भएका छन्।
घाइतेहरूको कुमालगाउँस्थित योगी नरहरिनाथ आधारभूत अस्पतालमा उपचार भइरहेको छ। जिप दुर्घटनामा पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।