पछिल्ला केही दिनयता काठमाडौंको वायु प्रदूषण जनस्वास्थ्यका हिसाबले अत्यन्त अस्वस्थकर तहमा उक्लिएको छ। सोमबार बिहान भक्तपुर, पाटन र काठमाडौंका अधिकांश वायु प्रदूषण मापन यन्त्रले वायु गुणस्तर सूचकांक (एक्युआई) दुई सयभन्दा माथि उक्लेको देखाएका छन्।
वायु प्रदूषणका विश्वव्यापी तथ्याक संकलन तथा प्रवाह गर्ने स्विजरल्यान्डमा रहेको संस्था आइक्युएयरका अनुसार पछिल्ला तीन दिनको अधिकांश समय राजधानीको वायु प्रदूषण सूचकांक दुई सय ५० को हाराहारीमा रहेको देखाएको हो। उक्त सूचकांक दुई सयभन्दा बढी हुनु भनेको जनस्वास्थ्यका लागि घातक मानिन्छ।
आइक्युएयरको तथ्यांकअनुसार सोमबार काठमाडौं विश्वको सबैभन्दा बढी प्रदूषित सहर बनेको थियो। वास्तविक समयको प्रदूषणको तथ्यांकका आधारमा तय हुने अन्तर्राष्ट्रिय सूचीमा सोमबार दिउँसो काठमाडौं सबैभन्दा बढी प्रदूषित हुँदा दोस्रोमा चीनको वुहान र तेस्रोमा थाइल्यान्डको चियाङमाई थिए।
काठमाडौंमा धेरै दिनसम्म वर्षा नहुँदा र प्रदूषण बढ्दा सोमबार बिहान भिजिबिलिटी अत्यन्त कम हुँदा हवाई उडानसमेत प्रभावित भएका थिए। हवाई उडानका लागि सामान्यता तीन हजार मिटरको भिजिबिलिटी हुनुपर्नेमा सोमबार बिहान १५ सय मिटरमा झरेको थियो। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा तुलाधारका अनुसार आगामी केही दिनमा गर्मी बढेसँगै हावा चल्न सुुरु हुने र स्थितिमा सुधार हुन सक्ने देखिएको छ।
पानी नपर्दा र पर्याप्त हावा नचल्दा काठमाडौं खाल्डोमा धुवाँ र धुलोको मात्रा अत्यधिक हुने गर्छ। वातावरण विभागको तथ्यांकअनुसार रत्नपार्कमा सोमबार बिहान पिएम २.५ को स्तर दुई सय माइक्रोग्राम प्रतिघनमिटर थियो।
वायु प्रदूषणका लागि सबैभन्दा खतरनाक मानिएको पिएम २.५ सूक्ष्म कण मानिसको फोक्सोसम्म सिधै पुग्न सक्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी अन्य रोग निम्त्याउने मानिन्छ।
हालै सार्वजनिक गरिएको एयर क्वालिटी लाइफ इन्डेक्स–२०२४ (एक्युएलआई) नामक एक अन्तर्राष्ट्रिय प्रतिवेदनका अनुसार नेपाल विश्वकै तेस्रो सबैभन्दा धेरै प्रदूषित राष्ट्र हो। भूउपग्रहमा आधारित तथ्यांकले वायुमा रहेका पिएम २.५ कणहरूको घनत्व नेपालको वायुमण्डलमा अत्यधिक रहेसँगै वायु प्रदूषण हिसाबले नेपाल तेस्रो स्थानमा सूचीकृत भएको हो उक्त प्रतिवेदनले विषाक्त वायुका कारण नेपालीको सरदर आयु ३.४ वर्षले घटेको देखाएको थियो।
गत वर्ष सार्वजनिक गरिएको स्टेट अफ ग्लोबल एयर रिपोर्ट–२०२४ नामक एक अर्काे अन्तराष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणका कारण सन् २०२१ मा ४८ हजार पाँच सय जनाको मृत्यु हुने गरेको देखाएको थियो।
नेपालमा विशेष गरी डिजेल र पेट्रोलमा आधारित सवारीसाधनले गर्ने उत्सर्जन, वनजंगलमा डढेलो लाग्दा निस्कने धुवाँ, इँटा कारखानाले गर्ने धुवाँ उत्सर्जन, कृषि अवशेष जलाउँदा र फोहोर बाल्दा हुने उत्सर्जन, विषादीको उच्च प्रयोग, सडकबाट निस्कने धुलो वायु प्रदूषणका प्रमुख कारण मानिँदै आएको छ।
सरकारले २०७६ सालमा काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयनमा ल्याए पनि यसको कार्यान्वयन अत्यन्त कमजोर छ। यो कार्ययोजनाले यातायात क्षेत्र, उद्योग प्रतिप्ठान, घरभित्रको वायु प्रदूषण, फोहोरमैलाजन्य प्रदूषण रोकथामसहित जनचेतना अभिवृद्धिमा प्राथमिकता दिएको छ।