अनामनगरकी अञ्जु प्रधान शनिबार घर छेउकै एक डेरी पसलमा घिउ किन्न गइन् । त्यसअघि उनले केही ठूला स्टोर र ठूला किराना स्टोरमा विभिन्न ब्रान्डका घिउको भाउ सोधेकी थिइन् ।
उनले नेपाली ब्रान्डकै घिउ अधिकतम १ लिटरको २ हजार ४ सय रुपैयाँसम्म र भारतीय कम्पनीले उत्पादन गरेका घिउ १ हजार ५ सय रुपैयाँसम्म पर्ने थाहा पाइन् ।
उनले ठूला स्टोर र केही ठूला पसलमा सोधेको घिउको भाउ अत्यधिक महँगो लागेपछि लोकल नै किन्ने विचार गरेकी थिइन् । उनले सोधेका ठूला स्टोरमा नेपालमै उत्पादित १ लिटर घिउको भाउ २ हजार ४ सय रुपैयाँसम्म थियो । भारतीय कम्पनीका घिउ भने लिटरको १ हजार ५ सय रुपैयाँसम्म रहेको उनले बताइन् ।
त्यसपछि अञ्जुले घरछेउकै डेरी पसल पुगेर आधा लिटर लोकल घिउ किनिन् । त्यसका लागि पनि उनले ६ सय ५० रुपैयाँ तिरिन् । यो भनेको १ लिटरको १ हजार ३ सय रुपैयाँ बराबर हो ।
साँझ खाना खाने बेला ३ चम्चा घिउ तताइन् । घिउ तताउँदा ह्वास्सै आएको गन्ध उनको नाकमा ठोक्कियो । फेरि, उनले नतताएको घिउको बट्टा नै सुँघिन् । नतताएको घिउबाट पनि अलि–अलि गन्ध आएजस्तो लाग्यो ।
‘डेरीवालाले मलाई आफैंले उत्पादन गरेको ताजा, गुणस्तरीय र अर्गानिक घिउ भनेर बेचेका थिए,’ अञ्जुले ghughu भनिन्, ‘ताजा घिउ नै भए त्यसरी गन्ध नआउनुपर्ने हो, त्यसमा डाल्डा मिसाएको जस्तै गन्ध थियो । म ठगिएँ ।’