कर्णाली प्रदेशको विद्युत विकाससँग जोडिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन विस्तारमा भएको ढिलाईप्रति नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले चासो दिएको आपत्ति छ । शाखा सुर्खेतका अध्यक्ष सुशीलराज शर्माद्वारा जारी ध्यानकर्षण पत्रमा कर्णाली प्रदेशको ऊर्जा व्यवस्थापनमा ऐतिहासिक महत्व राख्ने १३२ केभी विद्युत प्रसारण लाइन विस्तार कार्यमा विलम्ब हुनु अत्यन्त चिन्ताजनक विषय भएको उल्लेख छ ।
विद्यमान कर्णालीको विद्युत संरचनाका कारण नागरिकले भोग्नु परेको सास्तीप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले भनेको छ । बाँकेको बैजनाथ गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुनामा देखिएको विवादका कारण आयोजना समयमै सम्पन्न हुने सम्भावना अन्योलमा परेको महासंघको ठहर छ ।
सम्मानित अदालतले आयोजनाको पक्षमा फैसला गरिसकेको भए पनि अवरोध कायम रहनु र निर्माण कार्य नै अवरुद्ध हुनु सिङ्गो कर्णालीका लागि दुखको विषय भएको अध्यक्ष शर्माले बताए । ‘यो कानुनी शासन र विकासप्रति असहिष्णुता देखाउने गम्भीर संकेत हो । त्यसैले स्थानीय नागरिकसँग संवाद र सहजीकरण गरी समस्या समाधान गर्नेतर्फ नेपाल विद्युत प्राधिकरण, कर्णाली प्रदेश सरकार, राजनीतिक दल, जनप्रतिनिधिहरु, उद्योगी व्यवसायी, नागरिक समाजसहित सबै सरोकारवालाहरुको पहलकदमी जरुरी देखिएको छ,’ अध्यक्ष शर्माले भने ।


सुर्खेत कर्णाली प्रदेशको राजधानी भएको उल्लेख गर्दै महासंघले यहाँको औद्योगिक उत्पादन, सञ्चार माध्यम, स्वास्थ्य सेवा, शैक्षिक गतिविधिका साथै आमनागरिकको दैनिक जीवनसँग जोडिएको विषयमा खेलाची गरिनुलाई गम्भीररुपमा लिएको जनाएको छ । ‘अहिले सञ्चालनमा रहेको ३३ केभी विद्युत प्रसारण लाइनले सुर्खेतसहित सिँगो कर्णालीको माग र आवश्यकता धान्न सक्ने अवस्था छैन । त्यसमाथि पुराना उपकरण र सीमित संरचनामार्फत सेवा दिइँदै आएको विद्युत प्रणालीले बारम्बारको अवरोध र अस्थिरता झेल्नुपरेको छ ।



