☰ open Loading... 30 April 2025|  

बिहारमा भारी वर्षापछि ८० जनाको मृत्यु
पश्चिम नेपाल   | २८ चैत्र २०८१, शुक्रबार १४:४९

भारतको बिहारमा भारी वर्षा, आँधीहुरी र चट्याङका कारण ८० जनाको मृत्यु भएको छ। त्यहाँको नालन्दा जिल्लामा सबैभन्दा बढी २३ जनाको मृत्यु भएको छ। एक जनाको चट्याङ र बाँकीको भग्नावशेषमा पुरिएर मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। राज्यका अन्य जिल्लाहरू सिवान, कटिहार, दरभंगा, बेगुसराय, भागलपुर, जहानाबाद, मुजफ्फरपुर र पटनामा पनि ठूलो मानविय क्षति भएको छ।

मुख्यमन्त्री नितिश कुमारले मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्। नालन्दाको नगमा गाउँमा मन्दिरमा आश्रय लिइरहेका मानिसमाथि पिपलको रूख ढल्दा धेरैको मृत्यु गएको थियो। गाउँलेहरूले राहत वितरणमा ढिलाइ भएको गुनासो गरेका छन्।

मानव जीवनसँगै बाली, पशुधन र घरमा ठूलो क्षति भएको छ। विद्युत् प्रणालीमा पनि असर परेको छ। शुक्रबार (आज) साँझसम्म सबै पुनर्स्थापना हुने अपेक्षा छ। बिहारका विपद् व्यवस्थापन मन्त्री विजय कुमार मण्डलले भने, ‘सरकार यो विषयमा गम्भीर छ। किसानको बाली क्षतिमा पनि राहत दिने तयारी छ।’

मौसम विभागले बिहारका १३ जिल्ला (दरभंगा, पूर्वी चम्पारण, गोपालगञ्ज, पश्चिमी चम्पारण, किशनगञ्ज, अररिया, सुपौल, गया, सितामढी, शिवहर, नालन्दा, नवादा र पटना) मा ‘ओरेन्ज अलर्ट’ जारी गरेको छ। विभागले आगामी दुई दिनसम्म सतर्क रहन आग्रह गरेको छ।