☰ open Loading... 16 April 2025|  

वीरगन्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
पश्चिम नेपाल   | १ बैशाख २०८२, सोमबार २२:४९

शनिबार वीरगन्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच भएको विवादपछि लगाइएको कर्फ्यु आइतबार राति १२ बजेदेखि हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु हटाए पनि निश्चित स्थान तोकेर निषेधाज्ञा जारी गरेको जनाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार वीरगन्जको अवस्था पूर्ण रूपमा सामान्य नभएकाले वैशाख १ गते सोमबारदेखि अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

शनिबार बेलुकीदेखि लागू गरिएको कर्फ्यु आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेपछि हटाइएको हो। त्यसपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले राति १२ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको प्रजिअ अर्यालले बताए।

वीरगन्जमा निषेधाज्ञा जारी गरिएको क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म सीमित गरिएको छ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम अनिश्चित कालीन निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

यसअघि आइतबार साँझ सम्पन्न सर्वपक्षीय बैठकमा शोभायात्राका क्रममा भएको झडपमा संलग्न दोषीहरूलाई वैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने, अन्तरधार्मिक र साम्प्रदायिक सद्भाव तथा सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण रूपमा प्रतिबद्ध रहने र कानुनी कारबाही प्रक्रियामा सहयोग गर्ने सहमति भएको थियो।

पाँच बुँदे सहमति पत्रमा जिल्लामा सक्रिय सबै राजनीतिक दलका नेता तथा हिन्दु र मुस्लिम समुदायका अगुवाहरूले हस्ताक्षर गरेका छन्।

वीरगन्जमा कर्फ्यु उल्लङ्घन गरेको आरोपमा पर्सा प्रहरीले ८५ जनालाई पक्राउ गरेको थियो। शनिबार शोभायात्राका क्रममा वीरगन्जको छपकैया क्षेत्रमा दुई समुदायबिच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासन कर्फ्यु आदेश जारी गर्न बाध्य बनेको थियो।

हाल वीरगन्जको अवस्था सामान्य हुँदै गएकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

शनिबारको झडप नियन्त्रणका लागि नेपाल प्रहरीले १४५ राउण्ड अश्रुग्याँस र २ राउण्ड हवाई फायर गरेको थियो।

घटनामा नेपाल प्रहरीका प्रहरी उपरीक्षक र सशस्त्र प्रहरीका नायब उपरीक्षकसहित २५ जना सुरक्षाकर्मी र १५ जना भन्दा बढी प्रदर्शनकारी घाइते भएको पर्सा प्रहरीले जनाएको छ।

त्यस्तै, दुई समुदायबिचको झडप र विवाद गराउने समूह र व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरी प्रमुख मिश्रले बताए।

उनका अनुसार शोभायात्रा छपकैया क्षेत्र पुग्दा कसले ढुंगा, मुढा प्रहार गर्‍यो र त्यसपछि दुई समुदायबिच कसरी झडप भयो भन्ने विषयमा विभिन्न माध्यमबाट अनुसन्धान अघि बढाइएको छ।