पश्चिम नेपाल | ४ बैशाख २०८२, बिहीबार ०७:३७
४ वैशाख, काठमाडौं । आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । अहिले गहुँ, मसुरो जस्ता बाली काट्ने समय भएकाले आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्र बाली काट्नुपर्ने उनीहरुको सुझाव छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव छ । त्यसको प्रभावका कारण मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना छ ।


मौसमविद बिनु महर्जनका अनुसार वैशाख ४ गते विहीबार कोशी प्रदेशका एक–दुई ठाउँमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैगरी हिमाली क्षेत्रका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ ।



