☰ open Loading... 25 April 2025|  

दैलेखको दुल्लु अस्पतालमा हप्ता दिनदेखि सिटामोल अभाव
पश्चिम नेपाल   | ९ बैशाख २०८२, मंगलवार १८:१८

दैलेखको दुल्लु अस्पतालमा निःशुल्क वितरण हुने सिटामोल हप्ता दिन देखि अभाव भएको छ । बिरामीको चाप बढेसँगै हप्ता दिनदेखि निःशुल्क वितरण गरिने सिटामोल अभाव भएको हो ।

‘हप्ता दिनदेखि निःशुल्क वितरण गरिने सिटामोल सकिएकोले माग गरेको छौँ।’ दुल्लु अस्पतालका डाक्टर रहिज कोजुले भने, एक दुई दिनमा आउँछ ।’ आइतबार र सोमवार अस्पतालमा बिरामीको चाप बढ्ने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालबाट सरकारले निःशुल्क दिने सिटामोल अभाव भएपछि बिरामीहरूले किनेर खाने गरेका छन् । ‘बाहिर हल्ला भएजस्तो सिटामोल नै नभएको होइन ।’ उनले भने, निःशुल्क वितरण गर्ने सिटामोल मात्र सकिएको हो । किनेर लिन मिल्ने सिटामोल अस्पतालसँगै छ ।’ अस्पतालका अनुसार बिमाबाट आउनुपर्ने पैसा नआउँदा औषधी खरिद गर्न नसकिएको हो ।

सरकारले बिमाबाट उपचार गराएको बापत दुल्लु अस्पताललाई ४५ लाख रुपैँया तिर्न बाँकी छ । जसका कारण अस्पतालले औषधी किन्न सकेको छैन । नगरपालिका र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट औषधी माग भएको जनाइएको छ । दुल्लु अस्पतालमा अहिले ५ जना डाक्टर कार्यरत छन् ।