☰ open Loading... 25 April 2025|  

घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
पश्चिम नेपाल   | ९ बैशाख २०८२, मंगलवार २१:५७

अख्तियारमा रहेको मुद्दा मिलाइदिने भन्दै आफ्नै कार्यालयका कर्मचारीसँग घुस मागेका पोखरा महानगरका अधिकृत कपिल गिरी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनी महानगरको उजुरी फर्स्यौट तथा समन्वय शाखामा कार्यरत थिए । सोही शाखामा रहेका बेला उनले उजुरी नै नपरेका व्यक्तिलाई नक्कली उजुरी बनाएर अख्तियारमा परेको भन्दै घुस मागेका हुन् ।

उनी २५ हजार घुस सहित रंगेहात पक्राउ परेका थिए । गिरीले अख्तियारमा उजुरी परेका सम्बन्धमा प्राप्त पत्रलाई असर पुर्‍याउने उद्देश्यले सेवाग्राहीसँग सो रकम मागेको पाइएको छ ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा २५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३(१)(क) अनुसार कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी गरेको छ ।

अख्तियारले सोधेको प्रष्टीकरण वा प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी पाएका छन् ।

सोही आधारमा महानगरकै अर्का कर्मचारीसँग ‘अख्तियारमा उजुरी छ म मिलाइदिन्छु’ भनी घुस मागेका थिए । अब अदालतबाटै प्रक्रिया अघि बढ्ने आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।