☰ open Loading... 25 April 2025|  

साेती घटना: जन्मकैदको सजाय पाएकी प्रतिवादीको सादक जाँच गर्ने निर्णय
पश्चिम नेपाल   | ११ बैशाख २०८२, बिहीबार ११:२९

उच्च अदालत सुर्खेतले पाँच वर्षअघि रुकुमपश्चिम चौरजहारी नगरपालिकाको सोतीगाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा जन्मकैद फैसला पाएकी बालिकाको हकमा सादक जाँच गर्ने निर्णय गरेको छ।

न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले प्रतिवादी ५४ रुकुमपश्चिम ३९ ले पुनरावेदन गरेको नपाइएकाले सादक जाँचको रोहबाट पेसीमा चढाउन बुधबार आदेश गरेको हो।

उच्च अदालतका रजिस्ट्रार विश्वजंग सिजापतिका अनुसार सोमबारदेखि सोती घटनालाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ भइरहेको छ। सादकको रोहको पेसी बिहीबार तोकिएको उनले जानकारी दिए। ‘जन्मकैद सुनाइएकी प्रतिवादीले पुनरावेदन नगरेकाले सादकको रोहमा राखेर पेस गर्न आदेश भएको छ’, रजिस्ट्रार सिजापतिले भने, ‘बिहीबार नै पेसीमा रोखर सुनुवाइ हुन्छ।’

प्रतिवादी ५४ रुकुमपश्चिम ३९ नवराजकी प्रेमीका हुन्। नवराजसहित ६ जनाको २०७७ जेठ १० गते हत्या भएको थियो। उच्चमा दायर भएका २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ भइरहेको छ। जिल्ला अदालत रुकुमपश्चिमले २०८० मंसिर १९ गते जातीय विभेदकै कारण गाउँलेले विकसहित ६ जना युवकलाई कुटपिट गरी मारेको ठहर गर्दै तत्कालीन वडाध्यक्ष दम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैद सजाय सुनाएको थियो। यस्तै दुईजनालाई दुई वर्ष कैद र ५० हजार रूपैयाँ सजाय गरिएकोमा आठजनाले भने सफाइ पाएका थिए।

जिल्लाको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए, तर प्रतिवादी ५४ रुकुमपश्चिम ३९ ले भने पुनरावेदन गरेकी थिइनन्।

जाजरकोटको भेरी नगरपालिका– ४ सानागाउँका २१ वर्षीय नवराज विकसहितका साथीहरू प्रेमिकालाई लिन जाँदा गाउँलेले घरेलु हतियारसहित घेरा हाली कुटपिट गरेका थिए। आक्रमणपछि नवराज विक र उनका साथीहरू सञ्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो। उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो।