कर्णालीमा मन्त्रालय पुनर्संरचनाको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति बनाइएको छ । अर्थमन्त्री राजीवविक्रम शाहको नेतृत्वमा गठन भएको समितिले काम गर्न नसकेपछि अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा अर्को समिति बनाइएको हो ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समिति बनाएको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए । नयाँ बनेको समितिको सदस्यमा कर्णालीका पूर्वमुख्यसचिव डा.गोपीकृष्ण खनाल र डा.सुरेश तिवारी रहेका छन् ।
यसअघिको समितिलाई मन्त्रालयको पुनर्संरचना भनिएको थियो । यो समितिलाई समग्र प्रदेश सरकारको संगठन संरचनाकै अध्ययन, अनुसन्धानको जिम्मेवारी दिइएको छ ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त समितिले प्रदेशका मन्त्रालय, कार्यालयको अवस्थालगायत सबै विषयमा अध्ययन गर्ने छ । समितिले असार १५ गतेभित्र सरकारलाई अध्ययन प्रतिवेदन बुझाउनुपर्ने कार्यदिशा रहेको छ ।



