☰ open Loading... 25 April 2025|  

पश्चिम तराईमा चल्न थाल्यो तातो हावा
पश्चिम नेपाल   | ११ बैशाख २०८२, बिहीबार २१:२५

पछिल्ला दुई/तीन दिनयता बाँकेलगायत पश्चिम तराईका जिल्लामा तातो हावा लू अर्थात तातो लहर चल्न सुरु भएको छ । दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, धनगढी, भैरहवालगायत सहरमा जनजीवन कष्टकर हुँदै गएको छ ।

दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा चल्ने गरेको छ । दिउँसो १२ बजेदेखि दुई बजेसम्म तातो हावा चल्न थालेको छ । बिहीबार भैरहवामा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवाको अधिकतम तापक्रम ४० देखि ४२ डिग्री सेल्सियस पुगेको छ । बुधबार यहाँ ४१ देखि ४३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । त्यस्तै धनगढीमा ३९ देखि ४१ र नेपालगन्जमा ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । पछिल्ला तीन दिन यता पश्चिम तराईको तापक्रम बढ्दै गएको छ । दिपायल ३८–४०, वीरेन्द्रनगर ३६–३८ र घोराहीमा ३५–३७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । साथै मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी दुई दिनसम्म मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारीसँगै सतर्कता अपनाउन महाशाखाले अपिलसमेत गरेको छ । लुम्बिनी प्रदेशका तराईका भू–भागमा शुक्रबारसम्म तातो लहरको समेत सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।

तातो हावा चल्न थालेपछि दिउसोको समयमा सहरी क्षेत्र सुनसान हुन थालेको छ । अत्यावश्यक कामबाहेक अन्य अवस्थामा स्थानीयहरू घर बाहिर निस्किएका छैनन् । अत्यधिक गर्मीका कारण, बालबालिका, अस्पतालका बिरामी, दीर्घरोगी, विद्यार्थीहरू बढी प्रभावित भएका छन् । दैनिक ज्यालादारी काम गर्ने श्रमिक पनि गर्मीको मारमा परेका छन् । बिहान र साँझ दुरी दुई समयमा श्रमिकले काम गर्ने गरेका छन् ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै: थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न उपाय लगाउनु पर्ने महाशाखाले जनाएको छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत महाशाखाले अनुरोध गरेको छ ।