उत्तरी नाम्खा गाउँपालिकाको सीमावर्ती क्षेत्र पुगेर जिल्ला प्रशासन कार्यालयले तिब्बतको ताक्लाकोट जान चाहनेलाई अस्थायी प्रवेश पास वितरण गरेको छ ।
पुराङ काउन्टीको ताक्लाकोटबाट तिब्बतका विभिन्न स्थानमा आवतजावत गर्न तुम्कोट, याल्वाङ, हिल्सा, यारीलगायत क्षेत्रमा पुगेर ३७४ जनालाई नयाँ अस्थायी प्रवेश पास र पुरानो नवीकरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । व्यापार व्यवसायका निम्ति यहाँका बासिन्दा चीनको स्वशासित क्षेत्र तिब्बत जाने गरेका छन् ।
हालसम्म जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ५४५ जनाले ताक्लाकोट आवतजावत गर्न प्रवेश पास लिएका उनले जानकारी दिनुभयो ।


हिउँदयामको हिउँले यारी नाकाको ठाडो ढुंगा क्षेत्रको सडक नखुलेका कारण दुई घण्टाको ओरालो हिँडेर हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । गाडी यारीसम्म मात्रै जाने भएकाले हिल्सा पुग्न ओरालो दुई घण्टा र हिल्साबाट उकालो यारी पुग्न चार घण्टाको पैदल भएर नागरिकलाई प्रवेस पास दिएको उनको भनाइ छ ।



