गत साता गाडीको ठक्करबाट मृत्यु भएका जुम्ला हिमा गाउँपालिका-४ का ५५ वर्षीय कालीबहादुर बुढाका आफन्तले शनिबार १० घण्टा कर्णाली राजमार्ग बन्द गरेका छन् ।
कर्णाली राजमार्गको जुम्ला र कालीकोट सिमाना नाग्म बजार नजिकै उनीहरुले १० घण्टा यातायात सेवा ठप्प पारेका हुन् । तीन दिनदेखि दैनिक १० घण्टा राजमार्ग बन्द गरिरहेका छन् । जसका कारण सुर्खेत, नेपालगन्जदेखि जुम्ला, मुगु र जुम्ला मुगुदेखि सुर्खेत नेपालगन्ज जाने यात्रुहरु अलपत्र परिरहेका छन् । आन्दोलनकारीहरु बिहान ५ बजे नै सडकमा आइपुग्छन् । बेलुकी ४ बजेतिर मात्र सडक खुलाउने गरेका छन् ।
शनिबार मृतकका आफन्तहरुले मध्यपश्चिम यातायातको काउण्टर जलाउनेदेखि सडकमा टायर जलाउने र फलामे बारबन्देज गरेर यातायात सेवा रोकेका हुन् । मृतक बुढालाई सुर्खेतको रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको मध्यपश्चिम यातायात प्रालिको फोर्स गाडीले ठक्कर दिएको थियो । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सात दिनदेखि सुर्खेतमा र तीन दिनदेखि जुम्लामा निरन्तर आन्दोलन भइरहेको छ ।
आन्दोलन संघर्ष समितिका अध्यक्ष छत्रबहादुर शाहीले मृतकका आफन्तका माग पूरा नहुँदासम्म सडक आन्दोलन नरोकिने बताए । मृतकका आफन्तसँग मंगलबार र बुधबार सुर्खेत प्रहरी कार्यालयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । प्रहरीका अनुसार चालक तेज थामीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । परिवारले शव बुझ्न मानिरहेका छैनन् । जुम्लाको आन्दोलनको नेतृत्व गरिरहेका हिमाका अम्मराज शाहीले पीडित परिवारलाई न्याय नहुँदासम्म सडक आन्दोलन जारी रहने बताए ।
उनले भने, ‘गाडीले ठक्कर दिएको होइन । हानेर हत्या गरेको हो । जसको उचित छानबिन र मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था नहुँदासम्म सडक संघर्ष रोकिनेवाला छैन । ’


निरन्तर सडक बन्द भइरहँदा यात्रा गर्न असहज भइरहेको भन्दै यात्रुहरुले सहज रुपमा यात्रा गर्न पाउने व्यवस्था मिलाउन माग गरेका छन् । यात्रु दीपकसिंह धामीले भने, ‘बिहानै आइपुगेका यात्रुहरु नाग्ममा दिनभर बसेर बेलुका मात्र यात्रा गर्नुपर्ने बाध्यता हटोस् ।’
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतक बुढाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
आन्दोलरत पक्षले मध्यपश्चिम यातायातको सबै सवारीसाधन जुम्ला र मुगुमा प्रवेश निषेध गर्ने चेतावनी दिएका छन् । अहिलेसम्म गाडी मालिक सम्पर्कमा नआउनु र मध्यपश्चिम यातायातको समिति नै पीडितको माग सम्बोधन गर्न आनाकानी गर्नुले आन्दोलनको स्वरुप अझै कडा हुँदै जाने हिमावासीले जनाएका छन् । यो सिजन कर्णालीमा पर्यटकहरु घुम्ने भएकोले बन्दले निकै प्रभाव पार्ने गरेको स्थानीयले बताए ।



