☰ open Loading... 5 May 2025|  

सोती घटना: भित्र बहस, बाहिर खबरदारी
पश्चिम नेपाल   | १५ बैशाख २०८२, सोमबार १६:०७

रुकुम पश्चिमको सोतीगाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या हुने गरेर भएको घटनामा दायर भएका २६ थान पुनरावेदन निवेदनमाथि उच्च अदालत सुर्खेतमा सुनुवाइ भइरहँदा बाहिर प्रदर्शनहरु भइरहेका छन्।

उच्च अदालतमा एक सातादेखि सोती घटनाका विषयमा बहस भइरहेको छ। रजिस्ट्रार विश्वजंग सिजापतिका अनुसार गत सोमबारदेखि सोती घटनालाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ भइरहेको छ।

अदालतमा सुनुवाइ भइरहँदा बाहिर मृतकका आफन्त र अधिकारकर्मीहरू निरन्तर प्रदर्शन गरिरहेका छन्। पीडितहरूले जिल्ला अदालतको फैसला विपरित निर्णय आउने सम्भावना देखिएकाले आन्दोलन गर्नुपरेको बताएका छन्।

हत्या गरिएका नवराजकी आमा उर्मिला विकले जन्मकैदको सजाय पाएकाहरू छुटाउने खेल भइरहेको आरोप लगाइन्।

‘भित्र बहस सुन्दा जन्मकैदको सजाय पाएकाहरू पनि छुट्ने अवस्था देखिन्छ,’ उनले भनिन्, ‘यदि जिल्ला अदालतको फैसलाविपरित उच्चले निर्णय गरेमा जस्तोसुकै आन्दोलन पनि गर्न तयार छौं।’

सोती घटनामा मारिएका सञ्जुकी आमा सविताले न्यायालयबाट न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताइन्।

‘तर, अहिले बहस सुनिरहँदा केही शंका पनि लागेको छ,’ उनले भनिन्, ‘भित्र बहस सुन्दै बाहिर खबरदारी गरिरहेका छौं।’

दलित अभियन्ता खगेन्द्र सुनारले उच्च अदालतको फैसला नआउँदासम्म निरन्तर खबरदारी गर्ने बताए। उनले सोती घटनाका पीडकहरु अझै पनि अनुसन्धानको दायरामा आउन नसकेको बताए।

‘जात नमिलेर सामूहिक हत्या गरिएको घटनाका पीडकहरु अझै पनि बाहिर छन्, उनीहरूमाथि पनि अनुसन्धान गरिनुपर्छ,’ उनले भने, ‘हामीले रुकुम पश्चिममा जिल्ला अदालतबाट न्याय पाएका थियौं, अहिले उच्च अदालत सुर्खेतबाट पनि न्याय पाउनेमा आशावादी छौं।’