कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३) को नीति तथा कार्यक्रम र बजेट निर्माणको कामलाई तीव्रता दिएको छ । त्यसका लागि सम्बन्धित निकाय, मन्त्रालयका सचिव तथा कर्मचारीहरूबिच बजेटका विभिन्न पक्षलाई लक्षित गर्दै छलफल तथा बहस भइरहेका छन् । प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउँछन् ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले मन्त्रालयहरूलाई बजेट सिलिङ वितरण गरिसकेको बताए । ‘केही दिनअघि मात्रै हामीले मन्त्रालयलाई बजेट सिलिङ दिइसकेका छौँ,’ उनले भने, ‘मन्त्रालयहरूले पनि सोही अन्तर्गत काम गरिरहेका छन् भने हामीले पनि बजेटसँग सम्बन्धित विभिन्न विषयमा मन्त्रालयमा छलफल गरिरहेका छौँ ।’
मन्त्री शाहका अनुसार हरेक मन्त्रालयलाई चालु आर्थिक वर्षको भन्दा ०.५ देखि ३ प्रतिशतसम्म बढाएर सिलिङ वितरण गरिएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष (०८१/०८२) का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको थियो । बजेट सिलिङ वितरणका आधारमा आगामी आर्थिक वर्षमा बजेटको आकार बढ्ने आकलन अर्थमन्त्री शाहले गरे ।


उनका अनुसार चालु आर्थिक वर्षको बजेट ७५ प्रतिशतसम्म कार्यान्वयन हुने अनुमानका आधारमा सिलिङ दिइएको छ । चैत मसान्तसम्म कुल बजेटको २७ प्रतिशतमात्रै खर्च भएको छ । त्यसमा विकास बजेट २० प्रतिशतमात्रै कार्यान्वयनमा आएको छ ।
‘हामीले असार मसान्तसम्म ७५ प्रतिशत खर्च होला भन्ने अनुमानका आधारमा योजना बनाइरहेका छौँ,’ मन्त्री शाहले रातोपाटीसँग भने, ‘यदि त्यो अनुसार चालु बजेट खर्च भएन भने पनि अहिले दिएको सिलिङभन्दा बढी नै बजेट आउँछ ।’



