नेपाल पत्रकार महासङ्घ दैलेखको साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले पत्रकारहरू प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता वर्तमान सन्दर्भमा झनै महत्वपूर्ण रहेको बताउनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार नेपाल पत्रकार महासंघ दैलेख शाखाले आयोजना गरेको विशेष कार्यक्रम तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले प्रविधिको प्रभावकारी प्रयोगबाट सञ्चार क्षेत्रमा विविधता र प्रभावकारिता थपिने धारणा राख्नुभयो ।


समाजमा सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट सूचना तथा अफवाहले साम्प्रदायिक द्वन्द्व र हिंसा भड्किने खतरा रहेको उल्लेख गर्दै उपाध्यायले संयमित, तथ्यपरक र सत्य सूचना प्रवाह गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले सुशासन र सामाजिक सद्भाव अभिवृद्धिमा सञ्चारकर्मीको भूमिकालाई निर्णायक बनाउने समय आएको बताउनुभयो ।



