पर्यटकीय गन्तव्य मानिएको चितवनको सौराहा घुम्नका लागि निमन्त्रणा गर्न ‘घुमौं सौराहा, चितवन’ अभियानको टोली कर्णाली आइपुगेको छ । घुमौँ सौराहा चितवन अभियान २०२५ सञ्चालन गरेको क्षेत्रीय होटल संघ नेपाल चितवनको टोलीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेर सौराह घुम्नका लागि निम्तो गरेको हो ।
अभियान टोलीसँगको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सौराहा र कर्णालीका पर्यटकीय स्थलहरुलाई जोड्न आग्रह गरेका छन् । कर्णालीमा अद्भूत प्राकृतिक सम्पदा रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री कंडेलले यहाँका पर्यटकीय स्थल पर्यटकको पर्खाइमा रहेको बताए । सौराहासम्म आउने पर्यटकलाई कर्णाली पुर्याउनेगरी संस्थागत सम्बन्ध स्थापित गर्न पनि मुख्यमन्त्री कंडेलले प्रस्ताव गरे ।
कार्यक्रममा क्षेत्रीय होटल व्यवसायी संघ चितवन–सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेले कोरोनापछिको समयमा स्वदेशी पर्यटकको संख्यामा आएको गिरावटले उद्योग प्रभावित भएको भन्दै सौराहाको प्रवद्र्धन गर्न यो अभियान सञ्चालन गरिएको जानकारी दिए ।


सौराहा पर्यापर्यटन र साँस्कृतिक हिसाबले आकर्षक गन्तव्य रहेको बताउँदै अध्यक्ष पाण्डेले सौराहा घुम्नका लागि कर्णालीवासीलाई आग्रह गरेका थिए । उनले कर्णाली प्रदेशमा पनि पर्यटन अपार संभावना रहेको चर्चागर्दै सौराहा र कर्णालीलाई जोड्ने योजना बनाउने प्रतिबद्धता जनाएका थिए।



