☰ open Loading... 23 June 2025|  

यारीमा सात लाख ५५ हजार राजस्व संकलन
पश्चिम नेपाल   | २९ बैशाख २०८२, सोमबार १५:०९

हिल्सास्थित यारी नाका भन्सार कार्यालयले ७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा दुई महिना बाँकी रहँदा ७ लाख राजस्व संकलन भएको कार्यालय प्रमुख रामराज जैसीले बताए। यो वर्ष ८३ हजार राजस्व संकलन को लक्ष्य थियो, तर हालसम्म ७ लाख संकलन भइसकेको छ। एकमात्र स्थायी कर्मचारी भए पनि लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उनको भनाइ छ।

चीनबाट आयातित जुत्ताबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ। हिल्सा नाकाबाट आयात हुने जुत्ता, पिजी, ब्लाङ्केट, जुस, चकलेट, सिमेन्ट, सरियालगायत सामानबाट राजस्व संकलन गरिएको प्रमुख जैसीले बताए। चालु आर्थिक वर्षमा थप राजस्व संकलन हुने अनुमान छ।

हिल्सा नाकाबाट सामग्री आयात गर्ने १० नियमित व्यापारी छन्। उनीहरूले वर्षमा दुईपटकसम्म चीनबाट सामान ल्याउँछन्। एकपटक ल्याएको सामानबाट ४५ हजारसम्म राजस्व तिर्ने गरेका छन्।

चीनमा काम गर्न गएका कामदारले १५ हजारसम्मको घरायसी सामान ल्याउँदा राजस्व छुट दिइन्छ, तर त्यसभन्दा बढी मूल्यको सामानमा राजस्व लिइन्छ।

चीनबाट हिल्सासम्म सामान ल्याउन साना व्यापारीले कामदार पठाउँछन्। ठूला व्यापारीले उतैबाट सामान सिल गरेर गाडीमार्फत हिल्सासम्म ल्याउँछन्।

आर्थिक वर्ष २०८०/८१ मा २२ लाख र २०७९/८० मा १४ लाख राजस्व संकलन भएको थियो। यारी नाका भन्सार कार्यालय वर्षको ६ महिना मात्र सञ्चालन हुन्छ। हिउँदमा हिमपातले नाका ६ महिना बन्द हुन्छ। वैशाख १३ गतेदेखि कार्यालय सञ्चालनमा छ।