कर्णाली राजमार्गअन्तर्गत सिस्ने–साइगाउँ सडकखण्डमा सोमबारदेखि दैनिक ८ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ । यही बाटो हुँदै आवतजावत गर्ने अछाम, कालीकोट, जुम्ला, मुगु, हुम्ला र बाजुरालगायतका नागरिकलाई सास्ती हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना प्रकाशित गर्दै सडक निर्माण कार्यका कारण यो निर्णय गरिएको जानकारी गराएको हो । प्रशासनका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सो सडक खण्ड बन्द रहनेछ ।
सडक डिभिजन कार्यालय सुर्खेतबाट ठेक्का सम्झौता भई निर्माणाधीन रहेको यस सडक खण्डमा आवश्यक संरचना निर्माण तथा मर्मत सम्भारका लागि सवारीसाधनको आवतजावत रोकिएको हो । निर्माण कार्य सहज रूपमा सञ्चालन गर्नका लागि निश्चित समयावधिमा राजमार्ग बन्द गर्नुपरेको प्रशासनले स्पष्ट पारेको छ ।


सडक बन्दले दैनिक यात्रामा असर पार्न सक्ने भएकाले यात्रु तथा सवारीसाधन चालकलाई वैकल्पिक मार्गको रूपमा रामघाट–साइगाउँ खण्ड हुँदै मध्यपहाडी राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।



