☰ open Loading... 2 June 2025|  

गोरखापत्रकर्मी गिरी र नृत्य निर्देशक सुवेदी सम्मानित
पश्चिम नेपाल   | ४ जेष्ठ २०८२, आईतवार २१:०४

चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेले गोरखापत्रकर्मी साबित्री गिरी र नृत्य निर्देशक एवम् कलाकार नवराज सुवेदीलाई सम्मान गरेको छ ।

राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एवम् चलचित्र पत्रकार सङ्घ नेपालको २६औँ राष्ट्रिय वार्षिक उत्सवको अवसर पारेर पत्रकार सावित्री र कलाकार सुवेदीलाई सम्मान गरिएको हो ।

मोफसलमा रहेर नेपाली चलचित्रको विकासमा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दैं गिरीलाई सम्मान गरिएको हो भने बाँकेलाई कर्मथलो बनाउँदै नेपाली कला, संस्कृति, गीत, संगीतको विकासमा योगदान गरेको सुवेदीलाई सम्मान गरिएको हो ।

चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, पुर्व अध्यक्ष निरज गौतम लगायतले सम्मान गर्नु भएको थियो ।

सम्मान पछि पत्रकार गिरीले नेपाली पत्रकारितामा महिलाहरुलाई निरन्तरता दिन धेरै संघर्ष गर्नु परेको अनुभव सुनाउँदै हिम्मतका साथ काम गरे सफलता हासिल गर्न सकिने बताउनु भयो । उहाँले भन्नु भयो, ‘‘सबैभन्दा मुख्य कुरा लगनशीलता र हिम्मत हो । महिलाहरुलाई पत्रकारितामा टिक्न सहज छैन । काम गर्न सके अवसर पनि छन् ।’’

सम्मान कार्यक्रममा नृत्य निर्देशक सुवेदीले स्थानीय स्तरमा सिमित स्रोत साधनको प्रयोग गर्दै नेपाली गीत संगीतको क्षेत्रमा आफुले गरेको कर्मले सम्मानको हकदार बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मलाई यो सम्मानको हकदार ठान्नु भएकोमा चलचित्र पत्रकार संघ नेपाल बाँके परिवारलाई धन्यवाद दिन चाहन्छ । गीत, संगीतका क्षेत्रमा लागेको हामी जस्ता कलाकारको लागि यो सम्मान महत्वपुर्ण छ । यसले अझ राम्रो काम गर्न मलाई उत्प्रेरित गरेको छ ।’’

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले बाँकेमा चलचित्र क्षेत्रमा सक्रिय पत्रकारहरुले विधागत पत्रकारितलाई फराकिलो बनाउँदै लगेको भन्दैं धन्यवाद दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ बाँके अध्यक्ष गिरीले पत्रकारले विधागतरुपमा आफुलाई अब्बल बनाउँदै लगे भविष्यमा त्यसको थुप्रै फाइदा हुने बताउनु भयो । आयोजक चलचित्र पत्रकार सङ्घ नेपाल बाँके अध्यक्ष पौडेलले चलचित्र पत्रकारितालाई फराकिलो बनाउन बाँकेमा वर्षभरी विभिन्न कार्यक्रम गर्ने योजना सहित काम गरिरहेको बताउनुभयो ।