☰ open Loading... 2 June 2025|  

हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा
पश्चिम नेपाल   | ५ जेष्ठ २०८२, सोमबार १३:५८

हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ ।

बुधवार रातिको बाढीका कारण खोज्दै माथिल्लो तटीय क्षेत्र पुगेका सुरक्षाकर्मी सहितको स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम पोखरी फुटेको आशंका गरेका हुन् ।

४ दिनसम्म केन्द्र र स्थानीय सरकारले बाढीको कारण पत्ता लगाउन चासो नदिएपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्चोर तामाङ केही स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा थाक्रा पुगेका हुन् । अध्यक्ष सहितको टोली पहिरोको कारण खोज्दै ८ घण्टा पैदल दूरी पार गर्दे ५ हजार ३ सय मिटरको उचाईमा रहेको थाक्रा पुगेको हो ।

हिल्सास्थित सिमा सुरक्षामा तैनाथ शसस्त्र प्रहरी बल र नेपाल प्रहरीका १० जना सहित स्थानी उचाईमा रहेको थाक्रा पुगेका हुन् । लिमीमा कुनै पनि सुरक्षा निकायको उपस्थिति छैन । उनीहरु दक्ष प्राविधिक टोली र उपकरण बिना नै उच्च स्थानमा पुगेका हुन् ।

पहिरोका कारण गाउँ पुग्ने सबै संरचना तहस नहस भएको छ । गाउँलाई बाढीले तीन तिरबाट कटान गरिरहेको छ । १९ घर परिवारका ३३ जना बसोवास गर्दै आएको तील गाउँमा बुधवार राती लेदो सहितको बाढी आएको थियो । पहिरोले हाल्जी र हिल्सा तर्फको बाटो र पुल भत्काएको छ । सेखाङलुङबा खोलामा आएको बाढीले बस्तीतर्फ र तिल्जुङ्गखोलामा आएको बाढीले विद्युतीय पावरहाउस भत्काउनुको साथै हिल्सा जाने बाटो भत्काएको हो । त्यस वरपरको अन्य संरचना पनि भत्काएको छ । पहिरोले बाटो भत्काएर पोखरी जस्तो दह बनाएको वडा नम्बर ६ का पाल्जोर तामाङ्गले जानकारी दिए ।

वडानम्बर ६ स्थित थाक्रामा रहेका दुईवटा चर्किएको जस्तो देखिने तालको संरचना देखाउँदै तील गाउँका स्थानीयवासी कुञ्जोक फुर्बु लामाले भने, ‘हामी ५ जना माथि यो तालसम्म आएका छौँ । घटनास्थल तील गाउँबाट यहाँ आइपुग्न ८ घण्टा लाग्यो । अहिले हामी ५ हजार ३ सय उचाईमा छौँ । यहाँ दुईवटा हिमताल रहेछन् । माथि बरफ (हिउँ)को तल पानी रहेछ । त्यो पानी जमिन मुनिबाट निस्केर तल गएको देखियो । त्यही पानीले घटना गराएको रहेछ भन्ने हामीलाई लागेको छ ।’

हुम्लाको नाम्खा गाउँपालिका भित्र लिमि उपत्यकाभित्र पर्ने तील गाउँ सबै भन्दा विकट गाउँ हो । यो गाउँमा समय समयमा यसअघि पनि हिउँ पहिरो आउने गरेको थियो । मनसुन पूर्वको यो बाढी र कटानले गाउँ नै बगेर जाने जोखिम देखिएको छ ।