पश्चिम नेपाल | ११ जेष्ठ २०८२, आईतवार ०६:४०
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीको पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
जिपमा पाँच जना सवार थिए। मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रवीन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा छन्।


उनीहरूको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जना गम्भीर छन्, उनलाई थप उपचारका लागि पोखरा पठाउने तयारी छ।
चालकको अवस्था सामान्य छ। दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए।



