☰ open Loading... 25 June 2025|  

चार वर्षमै भत्कियो मध्यपहाड
पश्चिम नेपाल   | १४ जेष्ठ २०८२, बुधबार १७:१९

चार वर्षअघि कम्तीमा ४० वर्षसम्म नभत्किने गरी मजबुत भनेर बनाइएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको सडक यतिखेर धमाधम भत्किन थालेको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत दैलेख खण्डको जाहारकोटमा बनाइएको आरसीसी (ढलान) भत्किन थालेको हो।

छामघाट खोलाबाट दैलेख सदरमुकाम आउँदा उकालोमा निर्माण गरिएको आरसीसी एक वर्षयता उम्किन थालेसंगै कामको गुणस्तरमाथि शंका गर्न थालिएको छ। मोतिदान नामक निर्माण कम्पनीले उक्त ध्यान नदिँदा अहिले करिब २ किलोमिटर क्षेत्रमा गरिएको आरसीसी उम्कन थालेको हो। आरसीसी गरिएको स्थानमा उम्केर सरिया देखिन थालेपछि सवारी आगमनमा असहजता भएको छ।

दीर्घकाल सडकको गुणस्तर होस् भनेर उकालोमा गरिएको आरसीसी भत्कन थालेसंगै पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले मर्मतको ठेक्का निकालेको छ। जसले पनि गर्दा पनि काम गुणस्तर नभएको प्रमाणित गरेको छ। पश्चिम दैलेख जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको मध्यपहाडी भत्कन थालेसंगै दीर्घकालीन विकास निर्माण नहुँदा स्थानीयहरू चिन्तित छन्।

ठेकेदारले गुणस्तरहिन काम गर्दा आरसीसी गरेको भाग प्रायः भत्कन थालेको स्थानीय अगुवा विशाल शंदाशकरले बताए। ‘योजना कार्यालयको निगरानीको कमीले ठेकेदारले आरसीसी गर्दा मनोमानी गरेको देखिन्छ।’ स्थानीय अगुवा शंदाशकरले भने, ‘काम सकिएको ४ वर्ष नपुग्दै सडक विग्रन थालेको छ। उति बेलाका प्राविधिक र ठेकेदार जिम्मेवार हुनुपर्छ।’

कम्पनी र योजना कार्यालयले गुणस्तरमा सम्पन्न गरी निर्माण कम्पनी लामो समय मजबुद होस् भनेर उकालो सडकमा आरसीसीको डिजाइन गरिएको थियो तर, दैलेखमा ठेकेदारले गुणस्तरहिन सामान प्रयोग गरेका कारण ४ वर्ष नपुग्दै भत्कन थालेको छ। कालोपत्रे गर्दा छिटो भत्कने भएकाले उकालो सडक भएको ठाउँमा दुई लेर बनाएर दुई पटक सरिया बाँधेर गरिने ढलानलाई आरसीसी भनिन्छ।

ठाउँठाउँमा सडक भत्किएपछि कार्यालयले यसपाली मर्मत गर्ने भनेर ठेक्का गरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका इन्जिनियर सूचना अधिकारी नविन खरालले बताए। कार्यालय, मर्मतको ठेक्का लागेको छ। उनले विगतमा काम नभएको वा अन्य कुनै कारणले गर्दा पनि सडक भत्किएको हुनसक्ने समेत बताए। ‘यसपाली मर्मतसम्भारको लागि ठेक्का गरिसकेका छौं,’ सूचना अधिकारी खरालले भने, ‘छोटो अवधीमा नभत्कनुपर्ने हो। भत्किनुको कारण धेरै हुनसक्छ।’

मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेख क्षेत्रमा गरिएको कालोपत्रे पनि गुणस्तर नभएको स्थानीयको भनाइ छ।