जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब एक सातासम्म निष्क्रिय रहने जनाएको छ।
बिहीबार राति पूर्वी नेपालबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा फैलिएको मनसुन निष्क्रिय हुँदा वर्षा कम हुने र गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ।
मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिन निष्क्रिय हुँदा वर्षा कम हुने बताए। ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो, तर मे २९ मै पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो। बाँकी भूभागमा मनसुन फैलिन बाँकी छ। अब एक साता मनसुन निष्क्रिय हुने देखिन्छ,’ उनले भने, ‘मनसुन भित्रिएकै दिन पूर्वी क्षेत्रमा भएको भारी वर्षाले असर पनि पुर्याएको छ।’
बाढीविद् विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसुन भित्रिएको दिन २०० मिलिमिटरभन्दा बढी पानी परेको जानकारी दिए। वर्षाका कारण नदीमा पानीको सतह बढ्दा बाढी आएर केही क्षेत्र डुबानमा परेको उनले बताए।
‘विभागले मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। चार महिनाको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ,’ उनले भने।


कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको महाशाखाले जनाएको छ।
पराजुलीका अनुसार, विभागले जल तथा मौसम पूर्वानुमान, सतर्कता र चेतावनीसम्बन्धी सूचनालाई व्यवस्थित, प्रभावकारी र समयमै सम्प्रेषण गर्न मनसुन अवधिभर आमसञ्चार माध्यम र सरोकारवालालाई प्रत्यक्ष जानकारी गराउन थालेको छ।
‘विभागले हरेक दिन बिहान ११ बजे कार्यालयमा “ब्रिफिङ” सुरु गरेको छ। यो ब्रिफिङमा मुलुकभरको जल तथा मौसमसम्बन्धी सूचना, पूर्वानुमान र चेतावनीबारे जानकारी दिइन्छ,’ उनले भने, ‘सबै आमसञ्चार माध्यम, सरकारी र निजी सरोकारवाला निकाय, गैरसरकारी संस्था, उद्धार र राहतमा संलग्न निकायलाई विभागसँग प्रत्यक्ष संवाद गर्न र जल तथा मौसमजन्य सूचना प्रवाहमा सहजीकरण गरिएको छ।’
विभागले मौसमसम्बन्धी सूचनाका लागि ११५५ र बाढीसम्बन्धी सूचनाका लागि ११५५ टोलफ्री नम्बरमार्फत २४ घण्टा सेवा दिइरहेको छ।



